अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (ISKCON) वीरगञ्जले तेस्रो पटक श्री जगन्नाथ रथ यात्रा २०८२ आयोजना गर्ने घोषणा गरेको छ। उक्त भव्य धार्मिक तथा सांस्कृतिक कार्यक्रम चैत्र २८, २०८२ (अप्रिल ११, २०२६) का दिन दिउँसो १ बजे वीरगञ्जमा आयोजना हुने जनाइएको छ।
वैदिक परम्पराअनुसार मनाइने श्री जगन्नाथ रथ यात्रा एक पवित्र र हर्षोल्लासपूर्ण पर्व हो, जुन विश्वभर श्रद्धापूर्वक मनाइन्छ। यस अवसरमा भगवान् जगन्नाथ, भगवान् बलदेव तथा सुभद्रा महारानीको रथयात्रा निकालिन्छ, जहाँ उहाँहरू मन्दिरबाट बाहिर निस्केर सर्वसाधारण भक्तजनलाई दर्शन तथा आशीर्वाद प्रदान गर्ने विश्वास रहिआएको छ।
यस पर्वले समाजमा एकता, भक्ति र समानताको सन्देश प्रवाह गर्ने आयोजकको भनाइ छ।कार्यक्रमअन्तर्गत भव्य रथ यात्रा, मधुर भजन–कीर्तन, प्रेरणादायी आध्यात्मिक प्रवचन तथा हजारौँ सहभागीका लागि निःशुल्क प्रसाद वितरण गरिनेछ।रथ यात्रा गहवा माई पार्कबाट सुरु भई मकालु होटल, पूजन होटल, कैलाश होटल, घडीअर्वा पोखरी, गीता मन्दिर रोड हुँदै पुनः माइस्थान पार्कमा समापन गरिनेछ।
कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन आयोजकले विभिन्न तयारीहरू अघि बढाएको जनाएको छ। जसअन्तर्गत हजारौँ भक्तजनका लागि प्रसाद व्यवस्था, आकर्षक रथ निर्माण तथा सजावट, ध्वनि प्रणाली, यातायात तथा ट्राफिक व्यवस्थापन, स्वयंसेवक परिचालन तथा सुरक्षा व्यवस्थापन गरिनेछ।यस कार्यक्रमको कुल अनुमानित लागत करिब रु ५ लाख ५० हजार रहने जनाइएको छ।
आयोजकले विद्यालय तथा कलेज, व्यापारिक समुदाय, विभिन्न संघसंस्था तथा सम्पूर्ण भक्तजनलाई कार्यक्रम सफल बनाउन सहयोग गर्न अपिल गरेको छ।यस वर्षको रथ यात्रामा पर्सा, बारा र रौतहट जिल्लाका साथै भारतको रक्सौल (बिहार) क्षेत्रबाट समेत ४ हजारदेखि ६ हजारसम्म श्रद्धालु तथा सर्वसाधारणको उपस्थिति रहने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, वीरगञ्जले आवश्यक सुरक्षा व्यवस्था मिलाउनेछ।
यस सम्बन्धमा आयोजित पत्रकार सम्मेलन हिन्दु पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा इस्कॉन वीरगञ्जका मुक्तिनाथ साह, आयुष गिरि, गौर्सभन दास, श्याम मनोहर साह लगायतको उपस्थिति रहेको थियो।









