२०८३ बैशाख १ गते मंगलवार

प्याब्सन पर्साद्वारा ‘लेगेसी अवार्ड २०८२’ वितरण, शैक्षिक योगदानकर्ताहरू सम्मानित

 

निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साद्वारा आयोजित लेगेसी अवार्ड २०८२ तथा नयाँ वर्ष २०८३ शुभकामना आदान–प्रदान कार्यक्रम वीरगञ्जस्थित होटल भिस्वामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममार्फत शिक्षा क्षेत्रमा दीर्घकालसम्म अतुलनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

उत्कृष्टतालाई सम्मान गर्दै, नयाँ सुरुवातलाई अँगाल्दै” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रमले नयाँ वर्षको अवसरमा आपसी सद्भाव, सहकार्य र शैक्षिक उन्नयनको सन्देश दिएको आयोजकले जनाएको छ।

उक्त अवसरमा प्याब्सन पर्साका संस्थापक सदस्य मनी कुमार लामा, संस्थापक सदस्य एवं पूर्व अध्यक्ष लाल बाबू प्रसाद कुर्मी तथा संस्थापक सदस्य एवं पूर्व अध्यक्ष श्याम केसिलाई ‘प्याब्सन लेगेसी अवार्ड २०८२’ प्रदान गरी सम्मान गरिएको थियो। शिक्षा क्षेत्रको विकास, संस्थागत मजबुती र प्याब्सनको विरासत जोगाउन पुर्‍याएको महत्वपूर्ण योगदानको कदरस्वरूप उनीहरूलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो। प्रमुख अतिथिको रूपमा पशुपति विक्रम साह र उषा देवी साहको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिहरूमा वीरगञ्ज महानगरपालिकाको शैक्षिक महाशाखाका प्रमुख आनन्द लामिछाने, प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरन प्रधान, मधेश विश्वविद्यालयका उपकुलपति दीपक शाक्य, उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, प्याब्सन महानगरका अध्यक्ष राहुल श्रीवास्तव, प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साह लगायतको सहभागिता रहेको थियो।

साथै वीरगञ्जका विभिन्न निजी विद्यालयका सञ्चालकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै अध्यक्ष सरोज चौधरीले शिक्षा क्षेत्रमा दीर्घकालसम्म समर्पित व्यक्तित्वहरूको सम्मानले नयाँ पुस्तालाई प्रेरणा मिल्ने बताए। उनले प्याब्सनको गौरवशाली इतिहास र योगदानलाई जोगाउँदै आगामी दिनमा शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए। “हामीले आज सम्मान गरेका व्यक्तित्वहरूले देखाएको मार्गदर्शनले नै प्याब्सनलाई यहाँसम्म ल्याएको हो। अबको पुस्ताले पनि यही विरासतलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ,” उनले भने।कार्यक्रमको संचालन प्याब्सन पर्साका सचिव अशोक सङौलाले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM