वीरगञ्जस्थित पंचमुखी हनुमान मन्दिर, रेलबे रोड कुम्हालटोलमा बैशाख ९ गतेदेखि १७ गतेसम्म भव्य रूपमा श्रीराम कथा आयोजना हुने भएको छ। श्रीराम कथा आयोजक समितिका अनुसार काशीबाट आएका कथा वाचक पूज्य श्री मधुकर जी महाराजद्वारा दैनिक कथा वाचन गरिनेछ।
कार्यक्रमअन्तर्गत हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म बेदी पूजन तथा दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म श्रीराम कथा वाचन हुने जानकारी दिइएको छ। कार्यक्रमको समापन बैशाख १७ गते पूर्णाहुति तथा महाप्रसाद वितरणका साथ गरिनेछ।
हिन्दु पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा तथा श्रीराम कथा आयोजक समितिका संयोजक गौरी प्रसाद गुप्ताको संयोजनमा, स्वामी राजीव रंजन भारद्वाजको सान्निध्यमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी गराइएको हो।
पत्रकार सम्मेलनमा गौरी प्रसाद गुप्ता, श्रवण बहादुर रायमाझी, दीपक गुप्ता, अभिलाष गुप्ता, अमर सर्राफ, रामु रायमाझी, नवल श्रीवास्तव, नन्दलाल यादव र मनोज मिश्रालगायतको उपस्थिति रहेको थियो।
आयोजक समितिले श्रीराम कथालाई धार्मिक तथा सांस्कृतिक महत्त्वका साथ भव्य रूपमा सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ। कार्यक्रममा श्रद्धालु भक्तजनहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ भने कथा वाचनमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरिएको छ।








