२०८३ बैशाख ३ गते बिहीबार

भारतीय नम्बर प्लेटका सवारीसाधनमाथि कडाइ, ११ सवारीसाधन कारबाहीमा

 

जिल्ला ट्राफिक कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त आयोजनामा भारतीय नम्बर प्लेट भएका सवारीसाधनहरूलाई लक्षित गर्दै कडाइका साथ विशेष चेकिङ अभियान सञ्चालन गरिएको छ।

बुधबार दिउँसो ४:०० बजेदेखि ५:३० बजेसम्म छपकैया प्रहरी बिट अगाडि रहेको सडक खण्डमा उक्त विशेष चेकिङ अभियान सञ्चालन गरिएको हो। अभियानका क्रममा सवारी साधनहरूलाई रोकि–रोकि कागजात जाँच गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

जाँचका क्रममा करिब ४० वटा मोटरसाइकल, स्कुटर तथा कारहरू चेक गरिएको थियो। तीमध्ये ११ जना चालकसँग सवारी दर्ता प्रमाणपत्र (आरसी बुक), ब्लु बुक तथा आवश्यक कागजात नभएको एवं इन्टरी समेत नगरिएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिई जरिवाना गरिएको जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख युवराज कटवालले जानकारी दिए।

वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विक्रम सुवेदीका अनुसार भारतबाट ल्याइएका केही इलेक्ट्रिक स्कुटरहरू बिना नम्बर प्लेट सञ्चालन भइरहेको पाइएको थियो। ती सवारीसाधनका चालकहरूलाई सम्झाई–बुझाई गरेर छाडिएको उनले बताए।

प्रहरीले यस्ता कागजातविहीन तथा नियमविपरीत सञ्चालन भइरहेका सवारीसाधनमाथि आगामी दिनमा पनि निरन्तर रूपमा कडाइका साथ चेकिङ अभियान सञ्चालन गरिने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM