२०८३ बैशाख ३ गते बिहीबार

मानवअधिकार सम्बन्धी अभिमुखिकरण तथा सम्मान कार्यक्रम वीरगञ्जमा सम्पन्न

 

एमनेष्टी इन्टरनेशनल ग्रुप–१६ द्वारा वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा एक दिने मानवअधिकार सम्बन्धी अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा पर्सा क्षेत्र नं–२ बाट निर्वाचित प्रतिनिधि माननीय सुशील शाह कानुलाई बधाई तथा सम्मान गरिएको थियो। सो अवसरमा जनप्रतिनिधिको हैसियतले मानवअधिकारको संरक्षण र प्रवर्द्धनका लागि संसदमा प्रभावकारी रूपमा आवाज उठाउने तथा रचनात्मक सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गरिएको थियो।
सोही कार्यक्रममा बोल्दै माननीय सुशील शाह कानुले मानवअधिकारको संरक्षण राज्यको मात्र नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गरे।

उनले संविधानले प्रत्याभूत गरेका मौलिक अधिकारहरूको कार्यान्वयनमा अझै चुनौतीहरू रहेको भन्दै ती समस्याहरू समाधान गर्न संसदमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता जनाए। साथै, उनले मानवअधिकार उल्लङ्घनका घटनामा शून्य सहनशीलता अपनाउनुपर्नेमा जोड दिँदै नागरिक र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा ग्रुप–१६ का अध्यक्ष रजनिस झाको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा माननीय सुशील साह कानुको उपस्थिति रहेको थियो। साथै एमनेष्टीका वरिष्ठ सल्लाहकार राजेश जैन बोथरा, बोर्ड सदस्यहरू बिशाल झा र सतिस अग्रवाल, सचिव सुनिल महतो, समीक्षा घिमिरे लगायतको सहभागिता रहेको थियो।

अभिमुखिकरण कार्यक्रमको प्रशिक्षण अध्यक्ष रजनिस झाले प्रदान गरेका थिए भने कार्यक्रमको सहजीकरण शम्भु घिमिरेले गरेका थिए। कार्यक्रममा मानवअधिकारको महत्व, यसको संरक्षणमा नागरिक तथा जनप्रतिनिधिको भूमिका र वर्तमान चुनौतीहरूबारे विस्तृत रूपमा छलफल गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM