अभिलाष गुप्ता
वीरगञ्ज ०४ बैशाख –
वीरगञ्ज जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन आज वीरगञ्जस्थित तराई अस्पतालमा सञ्चालित नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्समा अध्ययनरत विद्यार्थीहरूका लागि मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम भव्य तथा प्रभावकारी रूपमा सम्पन्न भएको छ। कार्यक्रम वीरगञ्ज जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी रविन्द्र श्रेष्ठको सभापतित्वमा आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा मुख्य सचेतक डा. अनुप कृष्ण गुप्ताले मानसिक स्वास्थ्यको संवेदनशीलता, यसको महत्व तथा आधुनिक जीवनशैलीका चुनौतीहरूबारे गहिरो र प्रेरणादायी प्रस्तुति दिनुभयो। उहाँले मानसिक स्वास्थ्यलाई केवल रोगको अभाव मात्र नभई समग्र व्यक्तित्व विकासको आधारस्तम्भका रूपमा व्याख्या गर्दै तनाव व्यवस्थापन, सकारात्मक सोच, आत्म-नियन्त्रण र भावनात्मक सन्तुलनका विषयमा स्पष्ट धारणा राख्नुभयो। उहाँको अन्तरक्रियात्मक प्रस्तुतिले विद्यार्थीहरूलाई खुला रूपमा जिज्ञासा राख्न र समाधानमुखी सोच विकास गर्न उत्प्रेरित गरेको थियो।
कार्यक्रममा वीरगञ्ज जेसीजका पूर्व अध्यक्ष तथा वर्ष २०२६ का अध्यक्ष सल्लाहकार जेसीआई सिनेटर गणेशमान श्रेष्ठ, जेसी मुकेश सिंह, पूर्व अध्यक्ष जेसीआई सिनेटर अशोक गुप्ता, निवर्तमान अध्यक्ष सिनेटर सरोज चौरसिया, कलेजकी प्रिन्सिपल ममता यादवलगायत पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त अवसरमा प्रिन्सिपल ममता यादव, निवर्तमान अध्यक्ष सिनेटर सरोज चौरसिया तथा पूर्व अध्यक्ष जेसी मुकेश सिंहलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा र जीवनोपयोगी ज्ञान अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको संयोजन वीरगञ्ज जेसीज वर्ष २०२६ का उपाध्यक्ष जेसी रोहित गुप्ताले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन कलेजकी एक छात्राद्वारा सहज र प्रभावकारी ढंगले गरिएको थियो।
यस कार्यक्रमले विद्यार्थीहरूमा मानसिक स्वास्थ्यप्रति जागरूकता बढाउनुका साथै स्वस्थ, सन्तुलित र सकारात्मक जीवनशैलीतर्फ अग्रसर गराउने महत्वपूर्ण सन्देश प्रवाह गरेको छ।









