२०८३ बैशाख ४ गते शुक्रबार

एमआरपी कार्यान्वयन चुनौतीबारे वीरगञ्जमा बृहद छलफल तथा ‘समृद्ध मधेश’ पुस्तकको विमोचन

 

अधिकतम् खुद्रा मूल्य (MRP) सम्बन्धी विषयमा केन्द्रित बृहद छलफल तथा ‘समृद्ध मधेश’ नामक पुस्तक विमोचन कार्यक्रम शुक्रबार वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न भएको छ।वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानी सहभागी रहेका थिए। कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, निवर्तमान अध्यक्ष अनिल कुमार अग्रवाल लगायतको उपस्थिति रहेको थियो।

छलफल कार्यक्रममा पर्सा जिल्लाका विभिन्न कारोबारमा संलग्न आयातकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नेपाल सरकारले हालै सार्वजनिक गरेको MRP सम्बन्धी सूचनालाई १५ दिनभित्र कार्यान्वयन गर्न व्यवहारिक रूपमा कठिन हुने धारणा व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अशोक टेमानीले MRP कार्यान्वयन उपभोक्ता हितका लागि सकारात्मक भए पनि त्यसका लागि पर्याप्त पूर्वतयारी, व्यवसायीहरूसँग समन्वय र व्यवहारिक समयसीमा आवश्यक रहेको बताए। सरकारले नीति ल्याउँदा बजारको वास्तविक अवस्था र व्यवसायीहरूको तयारीलाई समेत ध्यान दिनुपर्छ उनले भने अन्यथा राम्रो उद्देश्यका नीतिहरू पनि कार्यान्वयनमा समस्या आउन सक्छ।

त्यसैगरी, सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपालले छोटो समयसीमाभित्र MRP लागू गर्न खोज्दा व्यवसायीहरूमा अन्योल सिर्जना भएको बताए। सरकार र निजी क्षेत्रबीच सहकार्य र संवाद आवश्यक रहेको बताए।

नेपाल उद्योग वाणिज्य महासङ्घ-मधेश प्रदेशका निबर्तमान अध्यक्ष अशोक कुमार टेमानी द्वारा लिखित ‘समृद्ध मधेश’ नामक पुस्तकको समेत विमोचन गरिएको थियो। उक्त पुस्तकमा मधेश प्रदेशको समग्र विकास, लगानीका सम्भावना तथा नीतिगत मार्गचित्रबारे विस्तृत रूपमा समेटिएको छ। यसअघि सो पुस्तक जनकपुरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री द्वारा विमोचन गरिएको थियो।

कार्यक्रम सहभागीहरूले MRP सम्बन्धी नीतिलाई प्रभावकारी र सहज रूपमा कार्यान्वयन गर्न सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।उक्त कार्यक्रमको सञ्चालन सङ्घका प्रशासकीय अधिकृत मनोज उपाध्यायले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM