२०८३ बैशाख ८ गते मंगलवार

वीरगञ्जमा जेसीज सप्ताह अन्तर्गत बिरामीहरूलाई फलफूल वितरण, समापन कार्यक्रम स्थगित

 

वीरगञ्ज जेसीजको सप्ताहव्यापी कार्यक्रम “जेसीज सप्ताह” अन्तर्गत छैठौं दिन आइतबार एक अर्थपूर्ण तथा मानवीय सेवामूलक कार्यक्रम सम्पन्न भएको छ। उक्त अवसरमा वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत करिब १०० जना बिरामीहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण गरिएको हो।

मानव सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै आयोजना गरिएको यस कार्यक्रमले अस्पतालमा रहेका बिरामीहरूमा सकारात्मक ऊर्जा, आत्मविश्वास तथा हौसला थप्ने विश्वास गरिएको छ। कार्यक्रमले सामाजिक उत्तरदायित्वप्रति जेसीजको प्रतिबद्धता झल्काएको छ।

वीरगञ्ज जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी रविन्द्र श्रेष्ठ कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेपछि निवर्तमान अध्यक्ष जेसी सरोज चौधरीयाले सभापतित्व ग्रहण गर्नुभएको थियो।
नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वीरगञ्ज जेसीजका पूर्व अध्यक्ष तथा वर्ष २०२६ का अध्यक्ष सल्लाहकार JCI सेनेटर निशान्त कुमार लामिछाने, JCI सेनेटर गणेशमान श्रेष्ठ, वर्ष २०२६ का कार्यसमिति पदाधिकारीहरू तथा बोर्ड सल्लाहकार जेसी सेराज अन्सारीको विशेष तथा गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि एवं नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ता र वीरगञ्ज जेसीजका पूर्व अध्यक्ष JCI सेनेटर गणेशमान श्रेष्ठले मन्तव्य व्यक्त गर्दै यस्ता मानवीय सेवामूलक कार्यहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र युवाहरूलाई सेवाभावमा अग्रसर गराउने उल्लेख गर्नुभयो। उहाँहरुले बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

उक्त कार्यक्रम वीरगञ्ज जेसीज वर्ष २०२६ का कानुनी सल्लाहकार जेसी तपेन्द्र चौधरीको संयोजनमा सम्पन्न भएको हो भने कार्यक्रम सञ्चालन महासचिव जेसी प्रकाश साहले कुशलतापूर्वक गर्नुभएको थियो।

यसैबीच, आइतबारको कार्यक्रमसँगै वीरगञ्ज जेसीजको सप्ताहव्यापी सम्पूर्ण कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएको छ। तथापि, सोही दिन आयोजना हुने भनिएको समापन समारोह तथा “जेसीज साँझ” कार्यक्रम हाल वीरगञ्जको विद्यमान परिस्थिति तथा वातावरणलाई मध्यनजर गर्दै तत्कालका लागि स्थगन गरिएको जानकारी वीरगञ्ज जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी रविन्द्र श्रेष्ठले दिनुभएको छ।

समग्रमा, जेसीज सप्ताह अन्तर्गत सञ्चालन गरिएका विविध रचनात्मक तथा सेवामूलक कार्यक्रमहरूले वीरगञ्जमा सामाजिक जागरण, सहकार्य र सेवाभाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM