२०८३ बैशाख ९ गते बुधबार

वीरगञ्जमा ‘श्रीराम महायज्ञ एवं भव्य श्रीराम कथा’ सुरु, पहिलो दिन भव्य कलश यात्रा

 

वीरगञ्ज महानगरपालिका वडा नं. ७ अन्तर्गत रेलबे रोड कुम्हालटोलस्थित पंचमुखी हनुमान मन्दिर परिसरमा आजदेखि ‘श्री श्री १०८ श्रीराम महायज्ञ एवं भव्य श्रीराम कथा’ विधिवत् रूपमा सुरु भएको छ। धार्मिक आस्था र सांस्कृतिक महत्व बोकेको उक्त महायज्ञ वैशाख ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ।

महायज्ञको उद्घाटनसँगै पहिलो दिन श्रद्धालुहरूको व्यापक सहभागितामा भव्य कलश यात्रा निकालिएको थियो। यज्ञ स्थलबाट सुरु भएको उक्त यात्रा नगरका विभिन्न भागहरूको परिक्रमा गर्दै घडिअर्वा पोखरीमा पुगेर जल भरिएको थियो। त्यसपछि पुनः नगर परिक्रमा गर्दै कलशहरू यज्ञ स्थलमा ल्याई कार्यक्रम समापन गरिएको थियो।

कलश यात्रामा महिलाहरूले टाउकोमा कलश बोकेर भजन–कीर्तन गर्दै सहभागिता जनाएका थिए भने स्थानीय बासिन्दा, श्रद्धालु तथा धर्मप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। धार्मिक वातावरणले पूरा क्षेत्र भक्तिमय बनेको थियो।

यज्ञ अवधिभर दैनिक रूपमा पूजा, हवन, श्रीराम कथा वाचन तथा विभिन्न धार्मिक कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको छ। साथै, देशका विभिन्न स्थानबाट आएका पण्डित तथा वाचकहरूले कथा प्रवचन गर्ने कार्यक्रम तय गरिएको छ।

आयोजक समितिका अनुसार महायज्ञले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन पनि आह्वान गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM