फागुण २१ गते सम्पन्न निर्वाचनको समीक्षा गर्दै नेपाली कांग्रेस पर्साले आजदेखि ‘जरा अभियान’ कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ। पछिल्लो निर्वाचनमा पर्साका चारवटै संसदीय क्षेत्र गुमाउनुपरेपछि पार्टीले संगठनलाई जरोस्तरसम्म मजबुत बनाउने उद्देश्यसहित अभियान सुरु गरेको जनाएको छ।
नेपाली कांग्रेस पर्साका सचिव तथा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम ले आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै अभियानलाई जिल्लाभर सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार यो अभियान हरेक गाउँपालिका, नगरपालिका, महानगरपालिका तथा वडास्तरमा विस्तार गरिनेछ।उहाँले भन्नुभयो, “विगतको निर्वाचनमा भएका कमजोरीहरूको समीक्षा गर्दै अब जरोबाटै संगठनलाई सुदृढ बनाउन आवश्यक छ।
जहाँ चुक भयो, जहाँ हामी कमजोर भयौं, त्यसलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्छ।”कार्यक्रममा सहभागी नेताहरूले पनि अघिल्लो निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयबाट पाठ सिक्दै अब सशक्त रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए। नेताहरूले संगठनभित्र देखिएका कमजोरी, कार्यकर्ता परिचालनमा आएको कमी तथा जनस्तरमा प्रभावकारी पहुँच विस्तार गर्न नसकिएको पक्षलाई सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उक्त कार्यक्रममा नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा पूर्वमन्त्री जनार्दन सिंह क्षेत्री, पूर्वमन्त्री रमेश रिजाल, पूर्वमन्त्री सुरेन्द्र चौधरी, पूर्वमन्त्री अजय चौरसिया, जिल्ला सचिव तथा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम लगायत नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
पार्टीका नेताहरूले आगामी दिनमा संगठनलाई थप सक्रिय, जनमुखी र प्रभावकारी बनाउँदै स्थानीय तह निर्वाचनमा मजबुत उपस्थितिका लागि यो अभियान महत्वपूर्ण हुने बताएका छन्।









