वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी एक परिवारको ज्यान नै जोखिममा परेको छ। घरमा चार्ज गर्न राखिएको टोनमा कम्पनीको इलेक्ट्रिक स्कुटरमा एक्कासी आगलागी हुँदा विशाल सर्राफ र उनका परिवारका चार सदस्य गम्भीर घाइते भएका हुन्।
घटनामा परी विशाल सर्राफ, उनकी २६ वर्षीया श्रीमती अञ्जली सर्राफ, ६ वर्षीय छोरा कबिर सर्राफ र २ वर्षीया छोरी इशा सर्राफ गम्भीर घाइते भएका छन्। उनीहरूलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित गण्डकको बयोधा अस्पतालमा भर्ना गरिएको छ। विशाल, अञ्जली र छोरा कबिरलाई आईसीयूमा राखिएको छ भने छोरी इशालाई एनआईसीयूमा उपचार भइरहेको परिवारले जनाएको छ।
परिवारका अनुसार लगातार बढिरहेको पेट्रोलको मूल्यका कारण खर्च कम गर्ने उद्देश्यले विशालले करिब एक महिना अघि वीरगञ्जको ड्राइपोर्ट चोकस्थित कुशवाह मोटर्सबाट १ लाख ९० हजार रुपैयाँमा मधेस प्रदेश १४३४ नम्बरको टोनमा कम्पनीको ई–स्कुटर खरिद गरेका थिए। शनिबार राति उक्त स्कुटर घरमै चार्जमा लगाएर परिवार सुतेको बेला ब्याट्री पड्किएर आगलागी भएको विशालका पिता विष्णु सर्राफले बताए।
उनका अनुसार आगो र धुवाँका कारण परिवारका सदस्यहरू गम्भीर अवस्थामा पुगेका हुन्। “पेट्रोलको महँगीबाट राहत पाउने आशामा स्कुटर किनेका थियौं, तर यही स्कुटरले परिवारलाई संकटमा पारिदियो,” विष्णु सर्राफले दुःख व्यक्त गरे। उनले हाल उपचारलाई प्राथमिकता दिइएको र त्यसपछि सम्बन्धित कम्पनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने तयारी रहेको जानकारी दिए।
घटनास्थल पुगेका कुशवाह मोटर्सका सेल्स विभागमा कार्यरत शौरभ श्रीवास्तवले प्रारम्भिक रूपमा विद्युत् ‘फ्लक्चुएसन’ का कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको बताए। उनका अनुसार टोनमा कम्पनीको स्कुटरमा यस्तो घटना पहिलो पटक भएको हो। घटनाको वास्तविक कारण पत्ता लगाउन कम्पनीले पनि अनुसन्धान सुरु गर्ने उनले बताए।
उनले स्कुटर पूर्ण रूपमा नष्ट भएको र त्यसको क्षतिपूर्ति थर्ड पार्टी इन्सुरेन्समार्फत गरिने तथा घरमा भएको क्षतिबारे सम्बन्धित पक्षसँग छलफल गरिने जानकारी दिए।








