अधिवक्ता चन्द्रीका पटेल ले राष्ट्रपति रामचन्द्र पौडेल ले पछिल्लो समय चालेको कदम असंवैधानिक भएको दाबी गर्दै उनीमाथि तत्काल महाभियोग लाग्न सक्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउनु ‘असंवैधानिक हर्कत’ भएको आरोप लगाएका हुन्।
पटेलका अनुसार अध्यादेश फिर्ता गर्दा संविधानको कुन धारामा टेकेर यस्तो निर्णय गरिएको हो भन्ने स्पष्ट आधार राष्ट्रपतिले खुलाएका छैनन्। उनले भनेका छन् कि विश्वभरका शासकहरूले असंवैधानिक काम गर्दा पनि कुनै न कुनै संवैधानिक आधार देखाउने प्रयास गर्छन्, तर यस घटनामा त्यस्तो आधार प्रस्तुत गरिएको छैन।
उनले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउँदै अभिभावकीय र तटस्थ भूमिका निर्वाह गर्न नसकेको आरोप समेत लगाए। उनका अनुसार राष्ट्रपतिले पार्टीगत स्वार्थअनुसार काम गरेको देखिएकाले २५ प्रतिशत सांसदको हस्ताक्षर जुटाएर महाभियोग प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएको छ।
साथै, यस्तो अवस्थामा राष्ट्रपतिलाई पदमुक्त गरी उपराष्ट्रपति वा अन्य वैकल्पिक व्यवस्थामार्फत राज्य सञ्चालन अगाडि बढाउनुपर्ने सुझाव पनि उनले दिएका छन्।








