सौराहा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरूलाई वीरगञ्ज महानगरपालिकाको मेयरका प्रत्याशी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि सुधीर पटेलले सम्मानसहित बिदाइ गरेका छन्।
वीरगञ्जस्थित त्रिशालामा सफल तेक्वान्दो डोजाङ क्लबद्वारा आयोजित एक कार्यक्रममा प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरूलाई खादा ओढाएर सम्मान गर्दै पटेलले बिदाइ गरेका हुन्। कार्यक्रम सफल तेक्वान्दो डोजाङ क्लबका गुरु एमडी ओसामाको अध्यक्षतामा सम्पन्न भएको थियो।
प्रतियोगिताका लागि छनोट भएका अनिश कुमार सर्राफ, सौरभ गिरी, राजन शाह, सचिन कुशवाहा, दुर्गा गिरी र कुकी मुखियालगायतका खेलाडीहरूलाई बिदाइ गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पटेलले खेलाडीहरू देशको पहिचान स्थापित गर्ने भविष्यका कर्णधार भएको बताए। खेलकुदले खेलाडीको व्यक्तिगत विकाससँगै राष्ट्रको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले खेलाडीहरूको हौसला बढाउन र उनीहरूको प्रगतिमा सहयोग पुर्याउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जेनजी पर्साका सल्लाहकार वीरेन्द्र कण्ठ, रास्वपा वीरगञ्ज महानगर कार्यसमितिका सदस्य सुरज महसिन राजा, चन्दन महतो तथा युवा नेता सुरेश गुप्तालगायतको उपस्थिति रहेको थियो। उनीहरूले प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरूलाई शुभकामना दिँदै उत्कृष्ट प्रदर्शनका लागि हौसला प्रदान गरेका थिए।
कार्यक्रमको सहजीकरण जेनजी पर्साका संयोजक महादेवप्रसाद कुर्मीले गरेका थिए। कार्यक्रमको समापन सफल तेक्वान्दो डोजाङ क्लबका गुरु तथा कार्यक्रमका अध्यक्ष एमडी ओसामाले गरेका थिए।
प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरूलाई सम्मान तथा बिदाइ गर्दै उनीहरूको मनोबल बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
























