२०८३ कार्तिक ८ गते शनिबार

रास्वपामा विधिसम्मत प्रक्रियाबाट मात्रै टिकट वितरण हुन्छ : हरि पन्त

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको विधिसम्मत प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट वितरण गरिने बताएका छन्। उनले पार्टीको निर्धारित विधि र प्रक्रियाभन्दा बाहिर गएर कसैले पनि टिकट नपाउने स्पष्ट पार्दै योग्य र सक्षम व्यक्तिहरूलाई विचलित नहुन आग्रह गरेका छन्।

शुक्रबार राति वीरगञ्जस्थित क्लासिक ब्याङ्क्वेटमा सांसद पन्तद्वारा आयोजित बडादसैँको शुभकामना आदानप्रदान तथा टीका ग्रहण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कार्यक्रममा पन्तले पार्टीको ‘हामी आउँदैछौँ’ अभियानको प्रसङ्ग जोड्दै आगामी निर्वाचनमा उम्मेदवार छनोटका लागि पार्टीले स्पष्ट विधि र मापदण्ड तयार गरेको बताए। उनका अनुसार पार्टीले अघि सारेको उम्मेदवार क्लब, पोलिटिकल प्रोक्सिमिटी (राजनीतिक निकटता), प्रारम्भिक निर्वाचन तथा समावेशिताको अवधारणाअन्तर्गत योग्य उम्मेदवार छनोट गरिनेछ।

उनले उम्मेदवार क्लबमार्फत प्रशिक्षित, परीक्षित र योग्य ठहरिएका व्यक्तिहरूलाई मात्रै पार्टीको आधिकारिक उम्मेदवार बनाइने बताए। पार्टीमा आबद्ध हुँदैमा वा नेतृत्वसँग व्यक्तिगत निकटता भएकै आधारमा टिकट पाउने अवस्था नरहेको उनको भनाइ थियो।

सभापति पन्तले जिल्ला सभापति, प्रदेश सभापति वा कुनै सांसदसँग नजिकको सम्बन्ध भएकै कारण कसैले टिकट पाउने अवस्था नरहेको स्पष्ट पारे। त्यस्तै, कुनै नेताको नातेदार भएकै आधारमा पनि उम्मेदवारीको अवसर नपाइने उनले बताए।

“विधि र प्रक्रियाभन्दा बाहिर गएर कसैले पनि टिकट पाउँदैन। जिल्ला वा प्रदेश नेतृत्वसँग निकटता भएकै आधारमा अथवा कुनै माननीयको नातेदार भएकै कारण टिकट पाइने छैन,” उनले भने। योग्य र सक्षम व्यक्तिहरूले पार्टीको निर्धारित प्रक्रियामा विश्वास गर्नुपर्नेमा उनले जोड दिए।

पन्तको भनाइले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटका क्रममा व्यक्तिगत सम्बन्ध र पहुँचभन्दा पार्टीले निर्धारण गरेको विधि, योग्यता, प्रतिस्पर्धा र समावेशितालाई प्राथमिकता दिने रास्वपाको तयारी रहेको संकेत गरेको छ।

कार्यक्रममा जिल्ला संगठन विभागका प्रमुख कृष्ण पासवानले सहजीकरण गरेका थिए। बडादसैँको अवसरमा आयोजित कार्यक्रममा सभापति पन्तले उपस्थित मान्यजनबाट टीका ग्रहण गर्नुका साथै सहभागी नेता तथा कार्यकर्तालाई टीका लगाएर दसैँको शुभकामना आदानप्रदान गरेका थिए।

कार्यक्रममा रास्वपाका जिल्ला तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा तुलसा पौडेल, सुदिश प्रजापति, परवेज अख्तरलगायत नेताहरूका साथै विभिन्न क्षेत्रीय सभापति, पालिका सभापति, वडा सभापति तथा पार्टीका अन्य नेता–कार्यकर्ताहरू सहभागी थिए।

कार्यक्रममा दसैँको शुभकामना आदानप्रदानसँगै पार्टीको संगठन विस्तार, आगामी स्थानीय तहको निर्वाचन र उम्मेदवार छनोट प्रक्रियाबारे समेत चर्चा भएको थियो।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM