वीरगञ्ज। युवा नेता एवं समाजसेवी बृजेश्वर प्रसाद चौधरीले पर्साको जगरनाथपुर गाउँपालिका–६, प्रसौनी गाउँको दक्षिणपट्टि गण्डक नहरको छेउमा रहेको चिया पसलका सञ्चालक गोरख राउत कुर्मीलाई ७ थान कुर्सी सहयोग गरेका छन्।
चिया पसलमा चियाको स्वाद लिन दैनिक ग्राहकहरूको भीड बढ्दै गएपछि बस्ने ठाउँको अभाव हुन थालेको थियो। ग्राहकहरूलाई बस्न असहज भइरहेको अवस्थाबारे स्थानीयवासीले जानकारी गराउँदै पसलका लागि केही थान कुर्सी सहयोग गरिदिन आग्रह गरेका थिए।
स्थानीयवासीको आग्रहअनुसार चौधरीले आफ्नो तर्फबाट ७ थान कुर्सी उपलब्ध गराएका हुन्। कुर्सी प्राप्त भएपछि चिया पसलमा आउने ग्राहकहरूलाई बस्न सहज भएको छ।
स्थानीयस्तरमा साना व्यवसायलाई प्रोत्साहन गर्ने तथा सर्वसाधारणलाई सहजता प्रदान गर्ने उद्देश्यले गरिएको यस सहयोगप्रति स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।























