हाजीपुर सहरको मेदिनिमलस्थित ट्यागोर स्कुलको सभागारमा वैशाली जिल्ला हिन्दी साहित्य सम्मेलनको आयोजनामा राष्ट्रकवि रामधारी सिंह ‘दिनकर’को जयन्ती समारोहपूर्वक मनाइएको छ। कार्यक्रमको अध्यक्षता वैशाली जिल्ला हिन्दी साहित्य सम्मेलनका अध्यक्ष एवं विद्यालयका निर्देशक डा. शशि भूषण कुमारले गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. शशि भूषण कुमारले राष्ट्रकवि दिनकर बिहारको महान् साहित्यिक धरोहर रहेको बताए। उनका रचनाले हिन्दी साहित्यलाई नयाँ उचाइ प्रदान गर्नुका साथै उनको साहित्यिक प्रतिभाको प्रभाव देश–विदेशसम्म पुगेको उनले बताए। दिनकरका रचनामा राष्ट्रप्रेम, ओज, विद्रोह र सामाजिक चेतनाको प्रखर अभिव्यक्ति पाइने उनको भनाइ थियो।
रामधारी सिंह ‘दिनकर’को जन्म २३ सेप्टेम्बर १९०८ मा बिहारको बेगुसराय जिल्लास्थित सिमरिया गाउँमा भएको जानकारी दिँदै उनले स्वतन्त्रता आन्दोलनका क्रममा दिनकरको लेखनीले राष्ट्रिय चेतनालाई स्वर प्रदान गरेको बताए। स्वतन्त्रतापछि उनलाई ‘राष्ट्रकवि’को उपाधिले सम्मान गरिएको थियो।
वरिष्ठ साहित्यकार रविन्द्र कुमार रतनले दिनकरका प्रमुख कृतिहरूमा ‘रश्मिरथी’, ‘कुरुक्षेत्र’, ‘उर्वशी’, ‘रेणुका’ र ‘हुंकार’ लगायत रहेको बताए। उनको गद्य कृति ‘संस्कृति के चार अध्याय’ का लागि साहित्य अकादमी पुरस्कार प्रदान गरिएको उनले जानकारी दिए। दिनकरका साहित्यिक रचनामा ओज, आक्रोश, विद्रोह र राष्ट्रप्रेमका साथै भारतीय संस्कृति र सामाजिक जीवनको गहिरो बुझाइ अभिव्यक्त भएको उनको भनाइ थियो।
वरिष्ठ साहित्यकार एवं कवि शम्भूनाथ मिश्रले दिनकरका कवितामा वीर रस र ओजका साथै कोमल शृङ्गारिक भावनाको पनि अद्भुत संगम पाइने बताए। उनको काव्यकृति ‘उर्वशी’ यसको उत्कृष्ट उदाहरण रहेको उनले बताए। दिनकर संसदीय जीवनसँग समेत जोडिएका थिए र राज्यसभा सदस्यका रूपमा राष्ट्र तथा समाजसँग सम्बन्धित विषयलाई प्रभावकारी रूपमा उठाएको उनले उल्लेख गरे।
उनका अनुसार सन् १९५९ मा पद्मभूषणबाट सम्मानित दिनकरलाई सन् १९७२ मा ‘उर्वशी’ कृतिका लागि ज्ञानपीठ पुरस्कार प्रदान गरिएको थियो।
समारोहमा हाजीपुरका विभिन्न साहित्यकार, शिक्षाप्रेमी, विद्यालयका शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले राष्ट्रकवि रामधारी सिंह ‘दिनकर’को तस्बिरमा पुष्प अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए। समारोहका वक्ताहरूले दिनकरको साहित्य र राष्ट्रप्रेमबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्नेमा जोड दिएका थिए।
























