दशैँ शुभकामना आदानप्रदानमा सहभागी भए कांग्रेस युवा नेता कञ्चन झा
वीरगञ्ज। नेपाली कांग्रेसका युवा नेता कञ्चन झा केन्द्रीय महाधिवेशनबाट फर्केलगत्तै आज वीरगञ्ज महानगरपालिका–२१, परवानीपुरमा बडादशैँको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका छन्।
कार्यक्रममा स्थानीयवासीसहित विभिन्न क्षेत्रबाट आएका अतिथिहरूसँग झाले दशैँको शुभकामना आदानप्रदान गरेका थिए।
नेपाली कांग्रेसभित्र नयाँ पुस्तालाई जोड्ने र समसामयिक विषय तथा राजनीतिक मुद्दामा बहस अघि बढाउने नेताका रूपमा सक्रिय झा पार्टीभित्र युवाहरूको सहभागिता र वैचारिक संवाद विस्तारमा क्रियाशील छन्। पार्टीभित्र समसामयिक राजनीतिक मुद्दामा बौद्धिक बहस र तार्किक विचार प्रस्तुत गर्दै आएका झा नेपाली कांग्रेसमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने युवा नेताका रूपमा परिचित छन्।
कार्यक्रममा झाले दशैँलगायत नेपाली समाजमा मनाइने विभिन्न चाडपर्वले धार्मिक तथा सांस्कृतिक एकता, आपसी भाइचारा र सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
विविध जाति, भाषा, धर्म, संस्कृति र समुदायलाई आपसी सम्मान, आत्मीयता र सहअस्तित्वको सूत्रमा जोड्न चाडपर्वहरूले साझा सांस्कृतिक सेतुको काम गर्ने उल्लेख गर्दै उनले चाडपर्वहरू उत्सव मनाउने अवसरमा मात्र सीमित नरहेको धारणा व्यक्त गरे।
मौलिक संस्कृति र परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै चाडपर्वमा देखिने विकृति र विसङ्गति न्यूनीकरण गर्नु सबैको साझा सामाजिक दायित्व भएको उनको भनाइ थियो। उनले सांस्कृतिक परम्परालाई समयानुकूल परिष्कृत गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा समेत जोड दिए।
झाले नवदुर्गाको कृपाले समाजमा सुख, शान्ति, सद्भाव र समृद्धि कायम रहोस् तथा सबैमा नयाँ ऊर्जा, उत्साह र सकारात्मकताको सञ्चार होस् भन्ने कामनासहित बडादशैँको शुभकामना व्यक्त गरे।
























