अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय सदस्य आशिफ अहमदले आफ्नो पद तथा संगठनको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्।
अहमदले अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दिपक धामीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्। उनले व्यक्तिगत निर्णयका आधारमा नेकपा (एमाले) तथा अनेरास्ववियुसँगको आफ्नो पद, जिम्मेवारी तथा सदस्यताबाट अलग हुने निर्णय गरेको जनाएका छन्।
राजीनामा पत्रमा उनले आजकै मितिदेखि लागू हुने गरी अनेरास्ववियुको केन्द्रीय सदस्य पदलगायत संगठनमा रहेको आफ्नो सम्पूर्ण जिम्मेवारी तथा आबद्धताबाट राजीनामा दिएको उल्लेख गरेका छन्। साथै, राजीनामा स्वीकृत गरी संगठनात्मक अभिलेखमा आवश्यक प्रक्रिया पूरा गरिदिन उनले अनुरोध गरेका छन्।
अहमदले संगठनमा रहँदा प्राप्त साथ, सहयोग, अनुभव तथा अवसरका लागि संगठनका नेतृत्व, सहकर्मी तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।
उनले आगामी दिनमा पनि संगठनका नेतृत्व, सहकर्मी तथा शुभेच्छुकहरूप्रति आफ्नो सम्मान, सद्भाव र आत्मीयता कायम रहने विश्वास व्यक्त गरेका छन्।
























