वीरगञ्ज । लामो समयदेखि वीरगञ्जको माइस्थान क्षेत्रमा बेवारिसे अवस्थामा रहँदै आएका एक व्यक्तिको मानवसेवा आश्रम वीरगञ्जको पहलमा सफल पारिवारिक पुनर्मिलन गराइएको छ।
केही दिनअघि माइस्थान क्षेत्रमा बेवारिसे अवस्थामा रहेका उनलाई मानवसेवा आश्रम वीरगञ्जले उद्धार गरी संरक्षणमा लिएको थियो। आश्रमको पहलमा परिवारका सदस्यको पहिचान तथा सम्पर्क स्थापित भएपछि उनलाई भारतको जमुईमा रहेका उनकी दिदी र भिनाजुको जिम्मा लगाइएको हो।
उद्धार गरिएका व्यक्तिलाई परिवारको जिम्मा लगाउँदै सफल पारिवारिक पुनर्मिलन गराउन पाउँदा आफूहरूलाई अत्यन्तै खुसी लागेको मानवसेवा आश्रम वीरगञ्जका देवेश गुप्ताले बताउनुभयो।
मानवसेवा आश्रमले बेसहारा तथा सडक आश्रित व्यक्तिहरूको उद्धार, संरक्षण र परिवारसँग पुनर्मिलन गराउने कार्य गर्दै आएको जनाएको छ। यस क्रममा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूप्रति आश्रमले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
























