भारतसँग सिमाना जोडिएको रक्सौल–वीरगञ्ज नाकामा शनिबार बिहानैदेखि ठूलो भीड देखिएको छ। बारा जिल्लामा आयोजना हुन लागेको तब्लिगी इज्तिमामा सहभागी हुन भारतलगायत विभिन्न स्थानबाट आएका हजारौं मानिसहरू नाकामा भेला भएका हुन्।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भारतीय सीमा सुरक्षा बल (SSB) ले कडा चेकजाँच सुरु गरेको छ। नाकाबाट नेपाल प्रवेश गर्ने सबै व्यक्तिहरूको आधार कार्ड लगायतका परिचयपत्रहरू अनिवार्य रूपमा जाँच गरी मात्र प्रवेश दिइएको छ।
विशेषगरी ठूलो संख्यामा विदेशी नागरिक सहभागी हुने भएकाले अवैध आवतजावत, सुरक्षा जोखिम तथा सम्भावित घुसपैठलाई रोक्न यस्तो कडाइ गरिएको सुरक्षा स्रोतले जनाएको छ।
नाकामा देखिएको अत्यधिक भीडका कारण केही समय सर्वसाधारणले सास्ती पनि भोग्नुपरेको छ। लामो लाइनमा उभिएर जाँच प्रक्रिया पूरा गर्नुपर्दा यात्रुहरूलाई असहज भएको गुनासो गरेका छन्।
नेपालतर्फ पनि सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सक्रिय रूपमा परिचालन गरिएको छ। उनीहरूले सीमा क्षेत्रमा निगरानी बढाउनुका साथै आवश्यक सहजीकरण गरिरहेका छन्।
बारा जिल्लामा हुने उक्त तब्लिगी इज्तिमा धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ, जसमा हरेक वर्ष ठूलो संख्यामा स्वदेशी तथा विदेशी मुस्लिम धर्मावलम्बीहरू सहभागी हुने गर्छन्। यसपटक पनि सहभागिता उच्च रहने अनुमान गरिएको छ।
सुरक्षा निकायले कार्यक्रम अवधिभर सीमा क्षेत्र र कार्यक्रम स्थल आसपास कडा सुरक्षा व्यवस्था कायम रहने जनाएको छ।









