२०८३ बैशाख १६ गते बुधबार

नेपाल–भारत सीमाको दशगजामा टाटा सफारीबाट ३० किलोभन्दा बढी गाँजा बरामद चालक फरार

 

नेपाल–भारत सीमावर्ती दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले टाटा सफारी गाडीबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेका छन्। बरामद गाँजाको तौल करिब ३० किलोभन्दा बढी रहेको बताइएको छ।

सोमबार साँझ करिब ५ बजेको समयमा बारा जिल्लासँग सीमा जोडिएको भारतको झरोखर नजिकको नो म्यान्स ल्याण्ड (दशगजा क्षेत्र) मा नियमित चेकजाँचका क्रममा शंकास्पद अवस्थामा रहेको बीआर ०५ पी ७३१८ नम्बरको टाटा सफारी फेला परेको थियो।

भारतीय सुरक्षाकर्मीले गाडी रोक्न खोज्दा चालक भने गाडी त्यहीँ छाडेर फरार भएको जनाइएको छ। त्यसपछि संयुक्त सुरक्षा टोलीले गाडीमा विस्तृत जाँच गर्दा भित्र विभिन्न स्थानमा लुकाइराखिएको अवस्थामा गाँजा फेला परेको हो।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वजित तिवारी का अनुसार गाँजा विभिन्न प्याकेटमा प्याक गरी गाडीभित्र लुकाइएको अवस्थामा बरामद गरिएको हो। गाडीभित्र सवारी दर्ता प्रमाणपत्रसमेत भेटिएको सुरक्षा स्रोतले जनाएको छ।

घटना सीमा स्तम्भ ३५७/०३ नजिकै भएको बताइएको छ। एसएसबीका प्रवक्ता बिनित कुमार सिंह का अनुसार बरामद गाँजा र गाडी नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार उक्त गाँजा नेपालतर्फको मकवानपुर जिल्लाबाट बारा हुँदै भारततर्फ तस्करी गर्न लागिएको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको भारतीय सुरक्षा निकायले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM