नक्कली सरकारी कागज प्रयोग गरी १०० टन प्रतिबन्धित छोकडा आयात प्रयास, वीरगञ्जबाट व्यवसायी पक्राउ
वीरगञ्ज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले नक्कली सरकारी कागजात प्रयोग गरी १०० टन प्रतिबन्धित छोकडा आयात गर्न खोजेको आरोपमा व्यवसायी नविन कुमार अग्रवाललाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार अग्रवाल वीरगञ्ज महानगरपालिका–११ आदर्शनगरबाट पक्राउ परेका हुन्। उनी काठमाडौंको कालिकास्थानस्थित Simvin International Impex का सञ्चालक रहेको बताइएको छ।
CIB ले दिएको जानकारीअनुसार अग्रवालले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नक्कली लेटरहेड, छाप तथा पूर्वमहानिर्देशकको हस्ताक्षर दुरुपयोग गर्दै १०० टन छोकडा आयातका लागि नक्कली अनुमतिपत्र तयार पारेका थिए। उक्त कागजात वीरगञ्ज भन्सार कार्यालयमा पेश गरी प्रतिबन्धित वस्तु भित्र्याउने प्रयास गरिएको आरोप छ।
नेपाल सरकारले निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३ अनुसार २०७६ चैत २४ गतेदेखि अर्को सूचना जारी नभएसम्म छोकडा आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ।
प्रहरीले यस्ता गतिविधि यसअघि पनि हुँदै आएको हुन सक्ने आशंका गर्दै घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेका अग्रवालमाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको CIB ले जनाएको छ।








