२०८३ बैशाख २६ गते शनिबार

क्यान्सरसँग जुधेको जीवनयात्रा समेटिएको संस्मरण ‘क्यान्सरसँगका मेरा अनुभूति’ लोकार्पण

अभिलाष गुप्ता
वीरगञ्ज, २४ वैशाख

क्यान्सर रोगसँग संघर्ष गर्दै प्राप्त अनुभव र जीवनका उतारचढाव समेटिएको क्यान्सरसँगका मेरा अनुभूति : A Cancer Survivor Memoir नामक संस्मरणात्मक पुस्तकको लोकार्पण समारोह बिहीबार वीरगञ्जस्थित वीरगंज पब्लिक कलेज को सभाहलमा सम्पन्न भएको छ।

सङ्कर श्रेष्ठ द्वारा लिखित उक्त पुस्तक लोकार्पण कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष तथा मधेश विश्वविद्यालय का उपकुलपति डा. दिपक शाक्य, डा. अर्बिन्द श्रेष्ठ, हरि रत्न तुलाधर, बिनय श्रेष्ठ लगायतको विशेष उपस्थिति रहेको थियो।
वीरगञ्ज पब्लिक कलेजका पूर्व कोअर्डिनेटर समेत रहेका लेखक सङ्कर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनले क्यान्सर रोगसँगको आफ्नो संघर्ष, उपचारका क्रममा भोगेका पीडा, मानसिक अवस्था तथा पुनः जीवनप्रतिको आशाबारे भावुक शैलीमा अनुभव सुनाएका थिए। उनले क्यान्सरलाई केवल रोगका रूपमा नभई जीवनलाई बुझ्ने एउटा महत्वपूर्ण मोडका रूपमा आफूले अनुभूति गरेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति डा. दिपक शाक्यले सङ्कर श्रेष्ठको पुस्तक केवल व्यक्तिगत संस्मरण नभई समाजका लागि प्रेरणादायी दस्तावेज भएको बताए।
उनले कठिन परिस्थितिमा पनि आत्मबल, धैर्यता र सकारात्मक सोचका साथ अघि बढ्न सकिने सन्देश पुस्तकले दिएको उल्लेख गर्दै क्यान्सरजस्ता गम्भीर रोगविरुद्ध चेतना फैलाउन यस्ता कृतिहरू महत्वपूर्ण हुने धारणा राखे। साथै उनले पुस्तकबाट प्राप्त रकम क्यान्सर पीडितहरूको सहयोगमा खर्च गर्ने निर्णयलाई मानवीय तथा उदाहरणीय कार्यको रूपमा प्रशंसा गरे।

कार्यक्रमका सञ्चालक कलेजका सहायक प्रमुख तथा प्राध्यापक डा. अर्बिन्द श्रेष्ठ ले पुस्तकले क्यान्सर पीडितहरूलाई आत्मबल र प्रेरणा दिने विश्वास व्यक्त गरे। कार्यक्रममा लेखककी श्रीमती कबिता श्रेष्ठ ले स्वागत मन्तव्य राख्दै कठिन परिस्थितिमा परिवारको साथ र सकारात्मक सोचको महत्वबारे चर्चा गरेकी थिइन्।

समारोहमा क्यान्सर पीडितहरू मन्जरी श्रेष्ठ, कबिता मथेमा तथा आसा दिदि लगायतको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले पुस्तकले क्यान्सरसम्बन्धी चेतना फैलाउनुका साथै रोगसँग लडिरहेका व्यक्तिहरूलाई मानसिक रूपमा सशक्त बनाउन सहयोग पुग्ने धारणा राखेका थिए।

यसैगरी कार्यक्रममा शिक्षक बासु कर्ण, बिपिएस कलेजका डाइरेक्टर दिपक पटेल, सन्दिप कुश्वाहा, मानवसेवा आश्रम वीरगञ्जका संस्थापक सदस्य तथा वीरगञ्ज पब्लिक कलेजका ब्रान्ड एम्बेसडर देवेश गुप्ता लगायत विभिन्न कलेजका शिक्षक, बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वीरगञ्ज पब्लिक कलेजले लेखक सङ्कर श्रेष्ठलाई सम्मानपत्र तथा खादा ओढाएर सम्मान समेत गरेको थियो। कार्यक्रममा पुस्तकको मूल्य ४ सय रुपैयाँ निर्धारण गरिएको जानकारी दिइएको थियो। साथै पुस्तक बिक्रीबाट संकलित रकम क्यान्सर पीडितहरूको सहयोगका लागि खर्च गरिने लेखकले बताएका छन्।

लेखक सङ्कर श्रेष्ठ लामो समयदेखि स्थानीय सञ्चारमाध्यम प्रतीक दैनिक मा स्तम्भकारका रूपमा सक्रिय रहँदै आएका छन्। उक्त पुस्तकमा उनले क्यान्सर उपचारको कठिन यात्रा, परिवारको साथ, आत्मविश्वास तथा जीवनप्रतिको सकारात्मक दृष्टिकोणलाई मार्मिक ढंगले प्रस्तुत गरेका छन।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM