नेपाल र भारतमा ग्रहणको कुनै पनि प्रकारको छाया वा दृष्टि नपर्ने भएकाले यहाँ यसको कुनै ज्योतिषीय वा धार्मिक प्रभाव नपर्ने ज्योतिष सम्राट डा. पुरुषोत्तम दुबेले स्पष्ट पार्नुभएको छ।
अन्तर्राष्ट्रिय खगोलीय गणनाअनुसार आगामी सूर्यग्रहण आर्कटिक, ग्रिनल्याण्ड, आइसल्याण्ड, स्पेन तथा युरोप र अमेरिकाका केही भूभागमा मात्र दृश्य हुनेछ। नेपाल, भारतलगायत एसियाली मुलुकहरूबाट यो ग्रहण पूर्ण वा आंशिक कुनै पनि रूपमा देखिने छैन।
शास्त्र र सनातन ज्योतिष परम्पराको सिद्धान्तअनुसार “यद् दृश्यं तद् फलम्” अर्थात् जुन ठाउँमा ग्रहण देखिँदैन, त्यहाँ यसको कुनै धार्मिक वा शास्त्रीय प्रभाव रहँदैन। त्यसैले नेपाल र भारतका नागरिकका लागि सुतक काल मान्नुपर्ने, पूजापाठ रोक्नुपर्ने, वा भोजन-दिनचर्यामा कुनै प्रतिबन्ध लगाउनुपर्ने आवश्यकता नरहेको डा. दुबेको भनाइ छ।
“विदेशमा वा अन्य गोलार्धमा ग्रहण लाग्दैमा नेपाल र भारतका जनमानसमा त्यसको असर पर्दैन,” डा. दुबेले भन्नुभयो, “त्यसैले भ्रामक प्रचार, सामाजिक सञ्जालका हल्ला र अनावश्यक डरबाट मुक्त भई आफ्ना नित्य कर्महरू निर्धक्क भएर सञ्चालन गर्नुहोस्।”
उहाँले सर्वसाधारणलाई अन्धविश्वासको पछि नलागी प्रमाणित पञ्चाङ्ग, खगोलीय तथ्य र वैज्ञानिक दृष्टिकोणमा मात्र विश्वास गर्न पुनः अपिल गर्नुभएको छ।
























