वीरगञ्ज महानगरपालिका स्थित ग्यालेक्सी सेकेण्ड्री विद्यालय शीलबन्दी गरिएको छ । अनाधिकृत रुपमा संचालनमा रहेको ग्यालेक्सी सेकेण्ड्री स्कुलमा शीलबन्दी गरेको हो । अनाधिकृत रुपमा विद्यालय सञ्चालन भईरहेको सूचना पाएपछि वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले विद्यालय सञ्चालनको अनुमति लगायतका आवश्यक कागजात लिएर आउन भनेपनि नआएपछि शीलबन्दी गरिएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले बताए ।
कक्षा १० सम्म अनुमति लिएको भनिएपनि विद्यालय सञ्चालनका लागि कुनैपनि कागजात कार्यालयलाई उपलब्ध नगराएको प्रमुख लामिछानेले बताए । उनका अनुसार माघ १३ गते नै विद्यालयलाई कागजपत्र लिएर महानगरपालिकामा आउन निर्देशन दिएपनि अहिलेसम्म कुनैपनि कागजान पेश नगरेको र सञ्चालक पनि सम्पर्क आएका छैनन् । सोरजनी मेमोरियल ट्रष्टको जग्गामा वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासले निर्माण गरिदिएको भवनमा विद्यालय सञ्चालन रहेको छ । विद्यालयमा तेश्रो पक्षबाट पनि चौथो पक्षलाई सञ्चालन गर्न दिईएको भन्ने सुन्नमा आएको महाशाखा प्रमुख लामिछानेले बताए ।
अहिलेसम्म सञ्चालक सम्पर्कमा नआएको र उनीहरुको पहिचान गर्ने काम भईरहेको उनले बताए । सञ्चालकको पहिचान भएपछि ऐन कानून बमोजिमको कारवाही प्रकृया अगाडि बढाईने प्रमुख लामिछानेले बताए । सिलबन्दी गर्न नगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत सृजना बुढाथोकी, नगर प्रहरी इन्चार्ज हरि प्रसाद भुषाल एवं संचारकर्मीको सहभागीतामा अवैध रुपमा संचालित विद्यालयमा सिलबन्दी गरिएको होे ।









