२०८३ आश्विन २४ गते शनिबार

नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

नागरिकप्रतिको जिम्मेवारी र कर्तव्यबोधलाई आत्मसात् गर्दै प्रहरीका कामकारबाहीबारे नागरिकलाई जानकारी गराउने तथा नागरिकबाट प्राप्त रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रियालाई सम्बोधन गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको मङ्गलटारमा नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय मङ्गलटारको समन्वयमा आयोजित उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रमको आयोजना इलाका प्रहरी कार्यालय मङ्गलटारकी प्रमुख निकिता मिश्राले गर्नुभएको थियो। कार्यक्रममा अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रहरीका कामकारबाही, नागरिकप्रतिको जिम्मेवारी तथा सुरक्षा व्यवस्थासम्बन्धी विषयमा छलफल गरिएको थियो। नागरिकका सुझाव, गुनासा तथा प्रतिक्रियालाई सुन्दै प्रहरी सेवालाई थप प्रभावकारी, पारदर्शी र जनमैत्री बनाउने विषयमा अन्तरक्रिया गरिएको थियो।

नागरिक सुनुवाइ कार्यक्रमले प्रहरी र नागरिकबीच सुमधुर सम्बन्ध कायम गर्न, आपसी विश्वास अभिवृद्धि गर्न तथा समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न सहयोग पुग्ने विश्वास लिइएको छ।

नागरिकका गुनासा तथा सुझावलाई प्राथमिकताका साथ सम्बोधन गर्दै नेपाल प्रहरीलाई राज्यले सुम्पिएको कानुनी दायित्व प्रभावकारी रूपमा निर्वाह गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, प्रहरी सेवालाई नागरिकमैत्री बनाउँदै सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले आगामी दिनमा समेत नागरिकसँगको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM