अभिलाष गुप्ता ।
वीरगंज महानगरपालिका भित्र रहेका होटल, रेष्टुरेण्ट, किराना पसल, फलफुल पसल लगायतका व्यवसायिक क्षेत्रमा बालश्रममा लगाइएका १७ जना बालकहरुको उद्धार गरिएको छ । गैरसरकारी संस्था सानो पाईलाले वीरगंजमा गत बुधबारदेखि ‘बाल श्रमिकको उद्धार तथा दीगो व्यवस्थापन अभियान शुरु गरेको छ । अभियानको पहिलो दिन गत बुधबार १७ जना बालकहरुको उद्धार गरिएको सानो पाइलाका प्रेस कोर्डिनेटर विवेक कर्णले जानकारी दिए ।
उनका अनुसार, वीरगंजका होटल, रेष्टुरेण्ट, मदिार पसल, फलफुल पसल लगायतका व्यवसायिक क्षेत्रमा काम गरिरहेका विभिन्न उमेरका १७ जना बालकहरुको उद्धार गरिएको हो । वीरगंज महानगरपालिका, जिल्ला प्रहरी कार्यालय पर्सा, श्रम तथा रोजगार कार्यालयका प्रतिनिधीहरुको सहयोगमा ८ देखि १५ वर्ष उमेरका ती बालकहरुको उद्धार गरिएको कर्णले बताए ।
बुधबार उद्धार गरिएका १७ मध्ये १२ जना बालकहरुलाई अब उप्रान्त बालश्रममा नलगाउने प्रतिबद्धतासहित बिहीबार उनीहरुको अभिभावकको जिम्मा लगाएर घर पठाइएको छ । परिवारको पत्ता नलागेका बाँकी ५ जना बालकहरुलाई भने सानो पाइलाद्वारा वीरगंजमा सञ्चालित बाल गृह ‘सानो घरमा आश्रय दिएर राखिएको छ ।
उद्धार गरिएका बालकहरुले आँफुहरुलाई बिहानदेखि मध्यरातसम्म काम लगाउने गरिएको बताएको कर्णले जानकारी दिए ।वीरगंज महानगरपालिका बालश्रम मुक्त महानगर घोषणा गराउने लक्ष्यसहित सानो पाइलाले ‘बाल श्रमिकको उद्धार तथा दीगो व्यवस्थापन अभियान शुरु गरेको कर्णले बताए । उनका अनुसार, अभियान सुरु गर्नु पूर्व सानो पाइलालले वीरगन्ज महानगरमा प्रारम्भिक अध्ययन गरेको थियो । उक्त अध्ययनका क्रममा विभिन्न व्यवसायिक क्षेत्रमा कानून विपरित बालबालिकालाई बालश्रममा लगाइएको भेटिएपछि गत बुधबारदेखि अभियान शुरु गरेको उनले बताए ।
उद्धार गरेर परिवारजनको जिम्मा लगाइने बालबालिकाहरुको बालअधिकारको रक्षा गर्दै उनीहरुको पालनपोषणका लागि व्यवस्था मिलाउन सानो पाइलाले पहल गर्ने कर्णले बताए । यस्तै उद्धारपछि अभिभावक वा परिवारको पत्ता लाग्न नसकेका बालबालिकाको दीर्घकालिन व्यवस्थापनका लागि संस्थाले काम गर्ने पनि उनले बताए ।









