चम्पारणका एसपी स्वर्ण प्रभातद्वारा शिष्ट व्यवहारको निर्देशन, ‘तँ-तँ’ हैन ‘तपाईं’ भन्न आग्रह
चम्पारणका प्रहरी प्रमुख (एसपी) स्वर्ण प्रभातले जिल्लाभरका सम्पूर्ण प्रहरी अधिकारी तथा जवानहरूलाई आम नागरिकसँग व्यवहार गर्दा भाषा र व्यवहारमा शिष्टता अपनाउन स्पष्ट निर्देशन दिएका छन्।
एसपी प्रभातले सबै प्रहरीलाई नागरिकसँग कुराकानी गर्दा ‘तँ-तै’जस्ता अपमानजनक शब्दको प्रयोग नगरी ‘तपाईं’ सम्बोधन गर्न आग्रह गरेका छन्। उहाँले प्रहरीको प्राथमिक जिम्मेवारी कडा कानुनी कार्यान्वयन भए पनि त्यससँगै व्यवहार मर्यादित र सम्मानजनक हुनुपर्ने बताए।
उहाँका अनुसार ट्राफिक चेकिङ, थाना परिसरमा आवेदन दिने क्रममा वा सामान्य जाँचजाँचको बेलामा प्रहरीबाट दुव्र्यवहार हुने गुनासोहरू बारम्बार आइरहेका छन्। यस्ता व्यवहारले प्रहरी र जनताबीचको सम्बन्धमा नकारात्मक असर पार्ने भएकाले तुरुन्त सुधारको आवश्यक रहेको उहाँको भनाइ छ।
एसपी स्वर्ण प्रभातले स्पष्ट शब्दमा भने, “कानून कार्यान्वयनमा कुनै कसर बाँकी नराख्नुस्, तर जनतालाई सम्मानपूर्वक व्यवहार गर्नुहोस्।”
उक्त निर्देशनको उद्देश्य प्रहरी र जनताबीचको विश्वासलाई अझ सुदृढ बनाउनु रहेको बताइएको छ।








