वीरगंजका विभिन्न क्यासिनोहरूमा पछिल्लो समयमा नेपाली नागरिकहरू निर्धक्क रूपमा प्रवेश गरिरहेका छन् भन्ने तथ्य बाहिर आएपछि क्यासिनो नियमन र निगरानी प्रणालीप्रति गम्भीर प्रश्न उठेको छ।
नेपालको प्रचलित कानुनअनुसार नेपाली नागरिकहरूलाई क्यासिनो प्रवेशमा पूर्ण निषेध गरिएको छ। तर, पछिल्ला दिनहरूमा वीरगंजका किङ्स क्यासिनो, फर्चुन सिटी गेमिङ क्लब, सुरज, दियालो र क्लार्क (मिनी जुवाघर) जस्ता स्थलहरूमा नेपालीहरू सहज रूपमा प्रवेश गरी जुवा खेलिरहेको देखिएको छ।
स्रोतका अनुसार कयौँ क्यासिनोहरूले नक्कली पहिचानपत्र (ID Card) प्रयोग गरी नेपाली नागरिकलाई भित्र्याउने गरेको पाइएको छ। यसले सामाजिक र आर्थिक दुवै दृष्टिले गम्भीर समस्या सिर्जना गरेको छ। धेरै नेपाली नागरिक त पैसाको मोहमा परेर घर–परिवार गुमाउने अवस्थासम्म पुगेका छन्।
कानुनी व्यवस्था र नियमनमा कमजोरी
क्यासिनो सञ्चालन र नियमनको जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको छ। क्यासिनो सञ्चालनका लागि लाइसेन्स प्रदान गर्ने अधिकार मन्त्रालयसँग भए पनि स्थलगत निरीक्षण र अनुगमनको जिम्मेवारी पर्यटन विभाग अन्तर्गतको क्यासिनो अनुगमन शाखाले गर्ने व्यवस्था छ।
तर, स्थलगत निरीक्षण प्रभावकारी नभएको, अनुगमन टोलीहरू केवल कागजी प्रक्रिया पुर्याएर फर्किने गरेको र कतिपय स्थानमा निरीक्षणमा मिलेमतो र भ्रष्टाचारका आरोप समेत लागेका छन्।
एक स्थानीय सामाजिक अभियन्ताले भने, “सरकारले लाइसेन्स दिएर मात्रै जिम्मेवारी पूरा हुँदैन, यसको नियमन पनि कडा हुनुपर्छ। क्यासिनोहरूले कानुनको धज्जी उडाउँदै नेपालीलाई भित्र्याइरहेका छन्।”
तिहारमा जुवाताण्डव : क्यासिनो भरिभराउ
दीपावली र छठ पर्वको माहोलसँगै वीरगंजका क्यासिनोहरूमा जुवाताण्डव चरममा पुगेको छ। सडकमा सुरक्षा व्यवस्था व्यस्त रहँदा क्यासिनोहरूमा भीड अत्यधिक बढेको छ।
स्रोतका अनुसार वीरगंजका ठूला होटलमा सञ्चालित क्यासिनोहरूमा दैनिक सयौँ व्यक्तिहरूको आवतजावत भइरहेको छ, जसमा अधिकांश नेपाली नागरिक रहेको अनुमान गरिएको छ।
पछिल्ला दिनहरूमा उद्योगपति, व्यापारीदेखि स्थानीय युवासम्म क्यासिनोमा तिहारको अवसरमा लाखौँ रुपैयाँको जुवा खेलिरहेका छन्। केही क्यासिनो सञ्चालकहरूले विदेशी तथा स्वदेशी ग्राहकलाई आकर्षक छुट र मनोरञ्जन अफर दिएर आकर्षित गरिरहेका छन्।
छ करोड हार्ने पूर्व अध्यक्षदेखि उद्योगपति र युवासम्म
पर्साको पटेर्वा सुगौली गाउँपालिकाका पूर्व अध्यक्ष हरिनारायण चौधरीले करिब छ करोड रुपैयाँसम्म विभिन्न क्यासिनोहरूमा जुवा खेल्दै गुमाएको खबर बाहिर आएको छ।यस्तै, वीरगंज र आसपासका उद्योगपति घरानाका सदस्य, ग्रामीण क्षेत्रका धनाढ्य र नवधनाढ्यहरू समेत जुवाको कुलतमा फँसेका छन्।
बाराको कलैया, रौतहटको गौर, चन्द्रनिगाहपुर र मकवानपुरको हेटौँडासम्मका व्यक्ति वीरगंजका क्यासिनोहरूमा पुगेर जुवा खेल्दै हारिरहेको खबर बाहिर आएको छ।
प्रहरी र प्रशासन मौन, क्यासिनो सञ्चालक हौसिएका
स्थानीय प्रशासन र पर्सा प्रहरी यस विषयमा मौन देखिएका छन्। पर्सामा नयाँ प्रहरी उपरीक्षक (एसपी) तथा एरिया इन्चार्जहरू परिवर्तन भएसँगै क्यासिनो सञ्चालकहरूको मनोबल झन् बढेको बताइन्छ।
क्यासिनोमा नेपालीको प्रवेश र कारोबार नियन्त्रण पर्सा प्रहरीका लागि ठूलो चुनौती बनेको छ।
सामाजिक संकटको खतरा
सामाजिक सञ्जाल र स्थानीय मिडियामा पनि क्यासिनोको कारण घरबार गुमाएका नेपालीहरूको संख्या बढ्दै गएको चर्चा छ। धेरै परिवार आर्थिक तथा सामाजिक संकटमा फँसेका छन्।
विशेषज्ञहरूका अनुसार, यदि तत्काल प्रभावकारी निरीक्षण र नियन्त्रणको व्यवस्था गरिएन भने क्यासिनोको जुवा संस्कृति नेपाली समाजमा गहिरो सामाजिक समस्या बनेर उभिनेछ।
कडा नियमनको माग
नागरिक समाज र सञ्चार माध्यमहरूले पर्यटन मन्त्रालय तथा सम्बन्धित निकायलाई पारदर्शी अनुगमन प्रणाली लागू गर्न, नक्कली ID प्रयोग गरी नेपाली भित्र्याउने क्यासिनोमाथि छानबिन गर्न र कानुन उल्लङ्घन गर्ने क्यासिनो सञ्चालकहरूविरुद्ध कडा कारबाही गर्न आग्रह गरेका छन्।









