देशभर नेवार समुदायले आफ्नो राष्ट्रिय पात्रो अनुसारको नयाँ वर्ष नेपाल संवत् ११४६ उत्साहपूर्वक मनाइरहेका बेला वीरगञ्जमा पनि न्हुँ दँया भिन्तुना समूहद्वारा धुमधामका साथ यो पर्व मनाइएको छ।
वीरगञ्जमा आयोजित कार्यक्रम परम्परागत नेवारी भेषभूषा, बाजागाजा, नाचगान र सांस्कृतिक झाँकीसहित विशेष रुपमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरुले एकआपसमा शुभकामना आदान–प्रदान गर्दै नयाँ वर्षको स्वागत गरेका थिए।
उक्त अवसरमा वीरगञ्ज महानगरका नगर प्रमुख राजेशमान सिंह प्रमुख अतिथिका रुपमा उपस्थित रहेका थिए। नगर प्रमुख सिंहले नेपाल संवत् देशकै गौरवशाली ऐतिहासिक पहिचान भएको उल्लेख गर्दै समुदायबीचको एकता, संस्कृति र परम्पराको संरक्षणमा नेवार समुदायको योगदान प्रशंसनीय रहेको बताए।
कार्यक्रममा नेवा देय दबु वीरगञ्जका पदाधिकारी, सदस्यहरू, तथा वीरगञ्जका नेवार समुदायका प्रतिष्ठित व्यक्तित्व र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
न्हुँ दँया भिन्तुनाका सदस्यहरूले ढोल, मादल, खिं, च्याब्रुका धुनमा परम्परागत नृत्य प्रस्तुत गर्दै नगरका विभिन्न भागमा झाँकी प्रदर्शनसमेत गरेका थिए। कार्यक्रममा युवा पुस्ताको उत्साहपूर्ण सहभागिता देखिएको थियो।
नेपाल संवत् ११४६ को अवसरमा आयोजित यस कार्यक्रममार्फत सांस्कृतिक विविधता र सामुदायिक एकताको सन्देश फैलिएको आयोजक समितिले जनाएको छ।









