२०८२ फाल्गुन २८ गते बिहीबार

पथलैयामा ट्राफिक असईमाथि कुटपिट, १७ वर्षीय युवक पक्राउ

 

बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) चन्द्रबहादुर सिंहमाथि बुधबार बिहान कुटपिट भएको छ।

राजमार्गमा सवारीसाधन जाँचका क्रममा बिहान करिब ३ बजे एक १७ वर्षीय युवकले ट्रकभित्रैबाट असई सिंहमाथि हातपात गरेका थिए। कुटपिटका कारण सिंहको टाउकोमा चोट लागी तीनवटा टाँका लगाउनुपरेको बताइएको छ। उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।

घटना त्यतिबेला भएको हो जब सिंहले मधेश प्र. ०३–००१ त ८९१४, मधेश प्र. ०३–००१ त ८११२, र मधेश प्र. ०३–००१ त ८८८५ नम्बरका ट्रकहरू जाँच गरिरहेका थिए। ती ट्रकहरूमा धान काट्ने मेसिन (कम्पाइन) लोड गरिएको थियो।

सिंहले ट्रकको कागजात जाँच गर्ने क्रममा विवाद भएको र त्यसपछि तीमध्ये एक ट्रकमा सवार पर्सागढी नगरपालिका–५ का १७ वर्षीय युवकले हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनापछि ट्राफिक प्रहरीले युवकलाई तत्काल नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय सिमरामा बुझाएको छ।सिमरा प्रहरीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार युवकलाई नियन्त्रणमा राखी थप अनुसन्धान कार्य जारी रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM