बिरगंजलाई हरियालीयुक्त, प्रदूषणमुक्त र पर्यटनमैत्री सहरको रूपमा विकसित गर्ने उद्देश्यका साथ ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले वातावरण संरक्षण अभियान प्रारम्भ गरेको छ। सोही क्रममा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले सशस्त्र प्रहरी बलका एसपी पुरनचन्द्र भट्ट र डिएसपी पुरुषोत्तम भण्डारीसँग भेटघाट गरी आवश्यक समन्वय र सल्लाह–मसलाह गरेका छन्।
अध्यक्ष खेतानले भने, “बिरगंज नेपालको प्रवेशद्वार हो, यहाँ दैनिक हजारौं भारतीय पर्यटक तथा व्यापारीहरू आउँछन्। त्यसैले सहरको सौन्दर्य, सरसफाइ र हरियालीले बिरगंजको पहिचान झल्काउनुपर्छ।” उनले भारतबाट आउने पर्यटकलाई मनमोहित गर्न भन्सार क्षेत्रको सौन्दर्यकरण र व्यवस्थापन प्राथमिकतामा रहेको बताए।
उनका अनुसार ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रले सशस्त्र प्रहरी र स्थानीय निकायसँग मिलेर “हरियो बिरगंज, स्वच्छ बिरगंज” अभियान सञ्चालन गर्ने तयारी गरेको छ। यस अभियानअन्तर्गत भन्सार क्षेत्र, आदर्शनगर,बाईपास रोड, परवानिपुर देखि रक्सौलसम्मको सडक किनारामा वृक्षरोपण, फोहोर व्यवस्थापन, र सरसफाइका स्थायी उपायहरू लागू गरिनेछ।
एसपी भट्टले पनि पहलको प्रशंसा गर्दै सशस्त्र प्रहरी बल वातावरणीय संरक्षण र सहरलाई स्वच्छ राख्न समुदायसँग सहकार्य गर्न तयार रहेको बताए।
सहकार्यको सुरुवातका रूपमा शनिबार देखी संयुक्त रूपमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सञ्चालन गरिने योजना बनाइएको छ।
अध्यक्ष खेतानले सबै सरोकारवालालाई यस अभियानमा जोडिन आह्वान गर्दै भने, “सफा, हरियो र आकर्षक बिरगंज हाम्रो सबैको जिम्मेवारी हो।”









