सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजबाट सप्रनाउ पुरुषोत्तम भण्डारीको कमाण्डमा ९ जनाको टोली र भारतीय समकक्षी SSB 47 Battalion A Company Headquarters Pantoka बाट AC सचिन सिंहको कमाण्डमा ५ जनाको टोलीले संयुक्त रूपमा सीमा क्षेत्रमा गस्ती सञ्चालन गर्ने क्रममा कटुवा पेस्तोलसहित दुई जना नेपाली नागरिक पक्राउ परेका छन्।
संयुक्त गस्ती टोलीले नेपालतर्फ जिल्ला पर्सा वीरगंज महानगरपालिका–१६ इनर्वा र भारततर्फ पूर्वी चम्पारण जिल्लाको नुनियाडी पंचायत–१, अहिर्वा नजिक सानो सीमा स्तम्भ नं. ३९०/२२ को आसपास (अन्दाजी १५ मिटर) नेपालतर्फ झाडीभित्र दुई जना व्यक्ति लुकिरहेको अवस्थामा फेला पारेको हो।
फेला परेकामध्ये वीरगंज महानगरपालिका–५, कुम्हालटोलका करिब १८ वर्षीय सुमित कुमार मण्डल र बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–७ का करिब २८ वर्षीय संजय कुमार साह कलवार रहेका छन्। संजय लठ्ठ अवस्थामा रहेकाले उनलाई उपचारका लागि नारायणी अस्पताल बीरगंज लगिएको प्रहरीले जनाएको छ।
उनीहरू फेला परेको स्थानमै रहेको बोरा भित्रबाट कटुवा पेस्तोल एक थान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद हतियारसहित दुबै जना व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।
सशस्त्र प्रहरी र भारतीय SSB बीचको यस्तो संयुक्त गस्तीले सीमा अपराध नियन्त्रण र अवैध क्रियाकलाप रोकथाममा प्रभावकारी भूमिका खेल्ने विश्वास सम्बन्धित निकायहरूले व्यक्त गरेका छन्।









