२०८२ चैत्र ३ गते मंगलवार

शिक्षा क्षेत्रको आवरणमा पारिवारिक लोभ र हिंसाको कहालीलाग्दो कथा: जानकी स्कुलका सञ्चालक दम्पतीसहित परिवारविरुद्ध अदालतको फैसला

 

वीरगञ्जमा शिक्षा क्षेत्रसँग जोडिएका व्यक्तिहरूमाथि पारिवारिक लोभ, हिंसा र सम्पत्ति विवादसम्बन्धी गम्भीर घटना सार्वजनिक भएपछि स्थानीयस्तरमा व्यापक चर्चा र चासो उत्पन्न भएको छ। जानकी स्कुलका सञ्चालक वीरेन्द्र यादव र उनकी पत्नी तथा विद्यालयकी प्रिन्सिपल सुनिता यादवविरुद्ध आफ्नै परिवारमाथि अमानवीय व्यवहार गरेको आरोपसहित मुद्दा दर्ता भई अदालतबाट फैसला समेत आइसकेको छ।

पीडित पक्षका अनुसार पारिवारिक सम्पत्तिमा नियन्त्रण जमाउने उद्देश्यले लामो समयदेखि दबाब, धम्की र हिंसाको श्रृंखला चल्दै आएको थियो। आरोपअनुसार, भाइ घरमा नभएको बेला तीन दिदीबहिनी मिलेर गर्भवती बुहारीमाथि कुटपिट गरिएको थियो। सो घटनापछि पीडित अचेत अवस्थामा पुगेकी थिइन् र स्थानीयको सहयोगमा अस्पताल पुर्‍याउँदा १० हप्ताको गर्भ नष्ट भएको पुष्टि भएको दाबी गरिएको छ।

यसका साथै, ८७ वर्षका वृद्ध बुवाको कमजोर मानसिक अवस्थाको फाइदा उठाउँदै पाँचै दिदीबहिनी र उनका श्रीमानहरूले सम्पत्ति बकसपत्र गराएको तथा केही सम्पत्ति बेचबिखनसमेत गरेको आरोप पीडित पक्षले लगाएको छ। सोही सम्पत्तिको विषयलाई लिएर भाइ–बुहारी बसोबास गर्दै आएको घर खाली गराउन पटक–पटक झैँझगडा हुने गरेको बताइएको छ।

घटनापछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा गर्भ संरक्षणसम्बन्धी कसुरमा उजुरी दिएको थियो। सो मुद्दामा अदालतले सुनुवाइ गर्दै अभियुक्तहरूलाई दोषी ठहर गरेको अदालत अभिलेखमा उल्लेख छ। फैसलाअनुसार अभियुक्तहरूलाई जनही तीन महिना कैद, १० हजार रुपैयाँ क्षतिपूर्ति तथा २ हजार ५ सय रुपैयाँ जरिमाना तोकिएको छ। पीडित पक्षले उक्त फैसलाले आफूहरूलाई न्यायको अनुभूति दिलाएको प्रतिक्रिया दिएका छन्।

अदालतको फैसलापछि अभियुक्तहरू पक्राउ पर्न सक्ने भयले फरार रहेको चर्चा भए पनि यसबारे सम्बन्धित निकायबाट आधिकारिक पुष्टि भने आउन बाँकी छ। शिक्षाको क्षेत्रमा संलग्न व्यक्तिहरूमाथि यस्ता गम्भीर आरोप र अदालतको फैसला आउनुले शिक्षा क्षेत्रको नैतिकता, जिम्मेवारी र सामाजिक भरोसामाथि गम्भीर प्रश्न उठाएको स्थानीयहरूको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM