रक्सौल, पूर्वी चम्पारण । बिमल सर्राफले मानिसको सोच ठूलो भए मात्र जीवन सफल हुने बताउनुभएको छ। उहाँले परमात्माको शक्ति सर्वत्र रहेको उल्लेख गर्दै जहाँ ध्यान केन्द्रित गरिन्छ, त्यहाँ सकारात्मक ऊर्जा प्राप्त हुने धारणा व्यक्त गर्नुभयो।
उहाँका अनुसार पदले केवल पहिचान दिन्छ, तर साँचो सम्मान कर्म र व्यवहारबाट मात्र प्राप्त हुन्छ। समयले मानिसलाई केही पनि साथ लैजान नदिए पनि आफ्नो कर्ममार्फत अमूल्य छाप छोड्ने अवसर भने दिन्छ। क्रोधबाट सुरु हुने कुरा अन्ततः लज्जा र विनाशमा टुंगिने भएकाले संयम आवश्यक रहेको उहाँको भनाइ थियो।
सर्राफले बदला र नकारात्मक भावनाले जीवनलाई समस्याले भरिने बताउँदै त्यसलाई शुभ भावनामा बदल्न आग्रह गर्नुभयो। सबैलाई सुख दिन नसकिए पनि कसैलाई दुःख नदिनु हाम्रो हातमा रहेको उहाँले उल्लेख गर्नुभयो। सम्बन्धलाई इमारतसँग तुलना गर्दै साना कमजोरी देखिँदा भत्काउने होइन, मर्मत गर्नुपर्ने धारणा राख्नुभयो।
उहाँले विपत्तिका बेला संसारका ढोका बन्द भए पनि परमात्माको ढोका सधैँ खुला रहने विश्वास व्यक्त गर्नुभयो। जीवनमा हुने सुख–दुःख, जन्म–मृत्यु, भोक–प्यास सबै हाम्रो नियन्त्रणमा नभए पनि हामी जीवनलाई आफ्नो इच्छाअनुसार चलाउन खोज्ने गर्छौं, यही नै दुःखको कारण भएको उहाँको भनाइ थियो।
अन्त्यमा, सर्राफले असल र खराब कर्मले आफ्नो समय आएपछि अवश्य फल दिने उल्लेख गर्दै सकारात्मक सोच, संयम र सद्भाव नै सफल र सार्थक जीवनको आधार भएको सन्देश दिनुभयो।
























