२०८२ चैत्र ३ गते मंगलवार

एनआइ कप क्रिकेट : ज्ञानदा एकेडेमीको लगातार तेस्रो जित, बालएकता ७८ रनले पराजित

 

वीरगञ्ज — पाँचौँ संस्करणको नेशनल इन्फोटेक अन्तरकलेज ट्वान्टी–ट्वान्टी क्रिकेट कप (एनआइ कप) अन्तर्गत पाँचौँ दिनको पहिलो खेलमा ज्ञानदा एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ।

वीरगञ्जस्थित टिबी शाह (नारायणी) क्रिकेट मैदानमा सम्पन्न खेलमा ज्ञानदाले कलैयास्थित बालएकता कलेजलाई ७८ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। यसअघि ज्ञानदाले आयोजक नेशनल इन्फोटेक कलेजलाई २६ रन र अल्पाइन हाई स्कुललाई ११७ रनले पराजित गरिसकेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको ज्ञानदा एकेडेमीले निर्धारित १७ ओभरमा ४ विकेटको क्षतिमा १७२ रनको बलियो योगफल तयार गर्‍यो। जय सर्राफले ३० बलमा ३ चौका र ४ छक्कासहित अविजित ५६ रनको अर्धशतकीय पारी खेले। प्रियांश सर्राफले २९ रन जोडे भने कप्तान चन्दन रामले १७ रन बनाए। बालएकताका बलरले २१ रन अतिरिक्त दिए।
१७३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बालएकता कलेज १६.५ ओभरमा मात्र ९४ रन बनाउँदै अलआउट भयो।

करण साह तेलीले २१ र शिवकुमार कर्णले १६ रन बनाए पनि अन्य ब्याटरहरू टिक्न सकेनन्।बलिङतर्फ ज्ञानदाका चन्दन राम र प्रियांश सर्राफले ३–३ विकेट लिए भने मुना यादवले २ विकेट हात पारे। मोहम्मद सहिन र विवेक प्रजापतिले १–१ विकेट लिए। बालएकताका आरिफ आलमले २ विकेट लिए।

एनआइ कप तराई–मधेस क्षेत्रकै सबैभन्दा लोकप्रिय अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको रूपमा स्थापित भएको छ। नेशनल इन्फोटेक कलेजद्वारा विगत पाँच वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगितामा पर्सा, बारा र मकवानपुरका १० कलेजका टोली सहभागी छन्। प्रतियोगिताले युवा खेलाडीलाई प्रतिस्पर्धात्मक क्रिकेटको अवसर दिँदै क्षेत्रीय खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको आयोजकको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM