२०८२ चैत्र ३ गते मंगलवार

AI प्रविधिबाट उड्डयन सुरक्षामा नेपाली युवा वैज्ञानिकको योगदान, NTU सिंगापुरमा अनुसन्धान पत्र प्रस्तुत

 

वीरगञ्जका विशाल कुमार रौनियारले सह–लेखक आशिष गुप्तासँग मिलेर सिंगापुरस्थित नान्याङ टेक्नोलोजिकल युनिभर्सिटी (NTU) मा आयोजित RAAI अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो अनुसन्धान पत्र प्रस्तुत गर्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाएका छन्। विश्वस्तरमा १२औँ स्थानमा रहेको प्रतिष्ठित विश्वविद्यालय NTU मा सम्पन्न उक्त सम्मेलनमा उनीहरूले प्रस्तुत गरेको अनुसन्धान कृत्रिम बुद्धिमत्ता (AI) आधारित त्रुटिपूर्ण वायरिङ पहिचान प्रणालीमार्फत उड्डयन सुरक्षालाई अझ मजबुत बनाउने विषयमा केन्द्रित रहेको छ।

उक्त अनुसन्धानले विमानमा प्रयोग हुने वायरिङ प्रणालीमा देखिन सक्ने त्रुटिहरूलाई समयमै पहिचान गरी सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ। आधुनिक AI प्रविधिको प्रयोगबाट विमान सुरक्षालाई अझ प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यसहित गरिएको यस अनुसन्धानले अन्तर्राष्ट्रिय स्तरमा ध्यान आकर्षित गरेको छ।

यस महत्वपूर्ण अनुसन्धानका लागि विशाल र आशिषले २,००० अमेरिकी डलर बराबरको अनुसन्धान अनुदान समेत प्राप्त गरेका छन्। साथै, उनीहरूको नवप्रवर्तनशील अनुसन्धान कार्यको प्रशंसा यसअघि नै विश्वप्रसिद्ध विमान निर्माता कम्पनी एयरबस (Airbus) ले पनि गरिसकेको छ।

नेपाली युवाहरूको क्षमता, नवप्रवर्तन र अनुसन्धानको सम्भावनालाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने यस उपलब्धिलाई उड्डयन सुरक्षा तथा प्रविधि क्षेत्रमा नेपालका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM