२०८२ चैत्र ३ गते मंगलवार

नेशनल इन्फोटेक कप २०८२ को फाइनलमा नेशनल इन्फोटेक ५ विकेटले विजयी

 

नेशनल इन्फोटेक कप २०८२ अन्तर्गत आयोजित इन्टर–कलेज टि–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज वीरगञ्जस्थित टी.बी. शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न भएको छ। फाइनल खेलमा नेशनल इन्फोटेक कलेजले ग्याण्डा एकेडेमीलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पारेको छ।

पहिले ब्याटिङ गरेको ग्याण्डा एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो। टोलीका लागि विवेक प्रजापतिले २७ बलमा ३६ रन तथा अंकित के. कुर्मीले ३६ बलमा ३५ रनको योगदान दिएका थिए। बलिङतर्फ नेशनल इन्फोटेकका निरज पटेलले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए भने अभय यादवले ४ ओभरमा २६ रन दिएर १ विकेट लिए।

१३८ रनको लक्ष्य पछ्याएको नेशनल इन्फोटेकले १९.१ ओभरमै ५ विकेटको क्षतिमा १४० रन बनाउँदै जित सुनिश्चित गर्‍यो। टोलीका लागि मोहताब आलमले ४३ बलमा ४८ रन तथा परिमार्जन यादवले ३९ बलमा ४९ रनको उत्कृष्ट पारी खेले। ग्याण्डा एकेडेमीका बलर रोबिन कुमालले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए भने अंकुश गुप्ताले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए।

फाइनल खेलका उत्कृष्ट खेलाडी मोहताब आलम घोषित भए। उनले ४८ रनको प्रभावशाली पारी खेलेबापत रु. २,००० नगद पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको फाइनल खेल क्रिकेट एशोसिएसन अफ नेपाल (CAN) मधेश प्रदेश क्रिकेट संघ तथा क्रिकेट एशोसिएसन अफ पर्साको सहकार्यमा सम्पन्न भएको हो। टुनामेन्टका संयोजक तथा युवा नेता सुधीर पटेलको विशेष उपस्थितिमा तथा क्यान पर्साका अध्यक्ष मनिष सिंहको अध्यक्षतामा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो।

आयोजकका अनुसार विजेता टोलीलाई शील्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता टोलीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताले वीरगञ्ज तथा आसपासका कलेजस्तरका खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM