२०८२ फाल्गुन २७ गते बुधबार

वार्डकप नकआउट क्रिकेटको पहिलो खेलमा छपकैया विजयी, खेलाडीहरू सम्मानित

 

बिरगंज महानगरपालिका वडा नं. २ छपकैयाका क्रिकेट खेलाडीहरूले वार्डकप नकआउट प्रतियोगिताको पहिलो खेलमा शानदार जित हासिल गरेका छन्। उक्त जितको खुशीमा विजेता खेलाडीहरूको सम्मानमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रममा बिरगंज महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष महमद रियाजले खेलाडीहरूको मनोबल उच्च बनाउँदै गमछा र फूलमालाले सम्मान गरेका थिए। खेलाडीहरूको सफलताले छपकैया क्षेत्रका स्थानीय बासिन्दा हर्षित भएका छन्।

वडा अध्यक्ष रियाज मियाले खेलाडीहरूलाई धन्यवाद दिँदै भने, “मेरो टोलका भाइहरूले क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेर जित हासिल गरेका छन्। यो जित केवल खेलाडीहरूको मात्र नभई सम्पूर्ण छपकैया बासीहरूको जित हो। आगामी दिनमा यी खेलाडीहरूले छपकैयालाई खेलकुदमार्फत देश–विदेशमा चिनाउनेछन् भन्ने मेरो विश्वास छ।” उनले खेलाडीहरूको उज्ज्वल भविष्यको कामना पनि व्यक्त गरे।

स्थानीय बासिन्दाहरूले खेलाडीहरूलाई प्रोत्साहन र सम्मान गरेकोमा वडा अध्यक्षप्रति धन्यवाद व्यक्त गरेका छन्। सम्मान पाउँदा खेलाडीहरू खुशी देखिएका थिए। उनीहरूले निरन्तर यस्तै हौसला र साथ पाइरहेमा छपकैया बासीलाई कहिल्यै निराश नबनाउने र छपकैयाको नाम देशमा मात्र होइन विदेशमा पनि रोशन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

खेलाडीहरूले छपकैया बासी तथा वडा अध्यक्षबाट पाएको माया, स्नेह र समर्थनप्रति आभार व्यक्त गर्दै खुशी साटेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM