२०८२ चैत्र २ गते सोमबार

रामगढवामा सवारी दुर्घटना रोकथामका लागि जनजागरण कार्यक्रम सम्पन्न

 

 

सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले रामगढवा एकता युवा क्लब र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा जनजागरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक युवराज कटवालको विशेष आतिथ्य रहेको थियो भने रामगढवा एकता युवा क्लबका कोषाध्यक्ष शिवराज पटेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमअन्तर्गत सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आइसिपीस्थित व्यस्त सडक खण्डमा दुर्घटना सचेतना सम्बन्धी सूचना बोर्ड जडान गरिएको छ। उक्त बोर्डले सवारी चालक तथा सर्वसाधारणलाई ट्राफिक नियम पालन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी निरीक्षक युवराज कटवालले सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक नियमको कडाइका साथ पालना, हेलमेट र सिटबेल्टको प्रयोग, गति नियन्त्रण तथा सचेतना कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए। उनले समुदायस्तरबाट यस्ता पहलहरू बढेमा दुर्घटना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने उल्लेख गरे।

कार्यक्रममा रामगढवा एकता युवा क्लबका सदस्यहरू सर्वण पटेल, अन्नु पटेल, नितेश पटेल, अरविन्द पटेल, धिरज पटेल लगायतको उपस्थिति रहेको थियो। साथै एलाईड युथ सोसाइटीका अध्यक्ष ओम झा तथा सम्बन्धित संस्थाका सम्पूर्ण पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो।

आयोजकहरूले आगामी दिनमा पनि सवारी सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM