३०४औँ पृथ्वी जयन्तीको उपलक्ष्यमा आयोजित अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। श्री श्रीजंग गण वीरगञ्जको आयोजनामा पर्सागढी–६ मा सम्पन्न प्रतियोगितामा विधा सदन विद्यालय प्रथम, गौतम माध्यमिक विद्यालय दोस्रो तथा ने.रा.मा.वि. छोटैली तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।
प्रतियोगितामा ४ वटा निजी तथा ३ वटा सामुदायिक विद्यालय गरी जम्मा ७ विद्यालयको सहभागिता रहेको थियो। कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको थियो भने प्रत्येक विद्यालयबाट ३ जना विद्यार्थी (कम्तीमा १ जना छात्रा अनिवार्य) सहभागी भएका थिए।

अंक प्रदान गर्ने विधिअनुसार सही उत्तरका लागि १० अंक र पास गरिएको प्रश्नको सही उत्तरका लागि ५ अंक निर्धारण गरिएको थियो। प्रत्येक प्रश्नको उत्तरका लागि ३० सेकेन्ड र पास गरिएको प्रश्नका लागि १० सेकेन्ड समय प्रदान गरिएको थियो। १०० अंक ल्याई विधा सदन प्रथम , ९० अंक ल्याई गौतम मावि दोस्रो र ८० अंक ल्याई ने रा मा वि छोटैली तेस्रो भएका थिए । त्यस्तै जीवन ज्योति मावि , जी एच पी मावि , त्रिजुध मावि , सिद्धार्थ मावि सहभागी थिए ।प्रतियोगिताका प्रश्नहरू चार चरणमा विभाजन गरिएको थियो। पहिलो चरणमा नेपालको एकीकरण, दोस्रो चरणमा नेपाल–अंग्रेज युद्ध, तेस्रो चरणमा नेपालको भूगोल तथा चौथो चरणमा नेपालको खेलकुदसम्बन्धी प्रश्नहरू समावेश गरिएको थियो।

कार्यक्रममा श्री श्रीजंग गणका गणपति प्रमुख सेनानी लोकेन्द्र कार्की, पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठक, श्री श्रीजंग गणका सेनानी लोकमणि अधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिकाहरू तथा पर्सागढी मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष बृजमोहन चौधरीको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण सहायक सेनानी पदम बहादुर खड्काले गर्नु भएको थियो ।
पर्सागढी को इतिहास र महत्व ,पृथ्वी नारायण शाहको योगदान र राष्ट्रिय इतिहासप्रति विद्यार्थीहरूमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले सहभागी विद्यार्थीहरूमा ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।









