निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्सा जिल्ला कार्यसमितिको आयोजनामा प्याब्सन पर्सा स्तरीय टि–२० नकआउट क्रिकेट तथा जुनियर फुटबल प्रतियोगिता २०८२ सञ्चालन हुने भएको छ।प्रतियोगिता सम्बन्धी जानकारी दिँदै प्याब्सन पर्साले माघ ८ गतेदेखि २४ गतेसम्म बीरगञ्जस्थित टी.भी. साह क्रिकेट मैदानमा ४० विद्यालयको सहभागितामा टि–२० नकआउट क्रिकेट प्रतियोगिता आयोजना गरिने जनाएको छ। यस्तै, २१ विद्यालय सहभागी हुने जुनियर फुटबल प्रतियोगिता माघ १० गतेदेखि १७ गतेसम्म मधेश प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सञ्चालन हुने छ।
खेलकुदलाई केवल मनोरञ्जनको साधन मात्र नभई उज्ज्वल भविष्य निर्माणको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ। विद्यालयस्तरका प्रतिभावान विद्यार्थी खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नु, उनीहरूलाई व्यावसायिक खेलतर्फ प्रेरित गर्नु तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुर्याउनु प्रतियोगिताको मुख्य लक्ष्य रहेको छ।
प्याब्सन पर्सा तथा अन्य सरोकारवाला संस्थाहरूले विगतमा सञ्चालन गरेका यस्ता प्रतियोगिताहरूको सकारात्मक परिणामस्वरूप पर्सा जिल्लाबाट नेपाल राष्ट्रिय क्रिकेट टोलीमा आरिफ शेख र आशिफ शेख, अन्डर–१९ राष्ट्रिय टोलीमा चन्दन राम लगायतका खेलाडीहरू स्थापित भइसकेका छन्। फुटबलतर्फ पनि जिल्लाबाट थुप्रै प्रतिभाशाली खेलाडीहरू राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएको आयोजकले जनाएको छ। यी उपलब्धिहरूले विद्यालयस्तरका प्रतियोगिताहरू नै भोलिका राष्ट्रिय खेलाडी उत्पादनका आधारस्तम्भ भएको स्पष्ट देखाउँछन्।
क्रिकेटतर्फ दशौँ संस्करणमा प्रवेश गरिसकेको यस प्रतियोगिताले निरन्तरता, विश्वास र सफलताको प्रतीकका रूपमा आफूलाई स्थापित गरिसकेको आयोजकको दाबी छ। हरेक वर्ष विद्यालय सहभागिता, दर्शक आकर्षण र प्रतिस्पर्धात्मक स्तर बढ्दै जानुले प्रतियोगिताको महत्व थप उचाइमा पुगेको छ। त्यसैगरी, हरेक वर्ष आयोजना हुँदै आएको जुनियर फुटबल प्रतियोगिताले आधारभूत तहका विद्यार्थीहरूमा फुटबलप्रति आकर्षण बढ्दै गएको अनुभूति गरिएको छ।
यस प्रतियोगितामार्फत विद्यार्थीहरूमा खेल भावना, अनुशासन, आपसी सद्भाव, नेतृत्व क्षमता तथा स्वस्थ प्रतिस्पर्धी संस्कृतिको विकास गराउने उद्देश्य पनि राखिएको छ। साथै सामाजिक एकता र सकारात्मक सोच प्रवर्द्धन गर्न समेत प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ।
यसै सन्दर्भमा, क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहलाई भव्य र अनुशासित रूपमा सम्पन्न गर्न ३० भन्दा बढी विद्यालयहरूको सहभागितामा मार्चपास प्रदर्शन आयोजना गरिने जानकारी दिइएको छ। मार्चपासको निष्पक्ष तथा प्राविधिक मूल्याङ्कनका लागि विज्ञहरूको टोली समेत परिचालन गरिनेछ।
पत्रकार सम्मेलनमा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी,सचिव अशोक संग्रौला,वरिष्ठ उपाध्यक्ष सुशिला साह,केन्द्रिय सदस्य छेडुप लामा,नगर अध्यक्ष राहुल श्रीवास्तव,सचीव अमित आलोक,सुशील केसि,श्याम केसि लगाएतका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियोे।









