आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा क्षेत्र नम्बर–४ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ। पार्टीको चुनाव चिन्ह घण्टी छापमा मतदान गरी प्रतिनिधि सभा उम्मेदवार टेक बहादुर शाक्यलाई भारी मतले विजयी गराउन आह्वान गर्दै आज तेस्रो दिन पनि जगर्नाथपुर गाउँपालिकामा घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन गरिएको छ।
कार्यक्रममा समाजसेवी एवं राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता बृजेश्वर प्रसाद चौधरी स्थानीय महानुभाव, बुद्धिजीवी तथा मतदातासँग प्रत्यक्ष भेटघाटमा व्यस्त देखिनु भयो। भेटघाटका क्रममा उहाँले रास्वपाको नीति, उद्देश्य र भावी योजनाबारे जानकारी गराउँदै पारदर्शी, जवाफदेही र जनमुखी राजनीतिको आवश्यकता औंल्याउनु भयो।
चौधरीले पर्सा–४ को समग्र विकास, सुशासन, रोजगारी सिर्जना र युवाको सशक्तिकरणका लागि टेक बहादुर शाक्य उपयुक्त उम्मेदवार भएको दाबी गर्दै घण्टी छापमा मतदान गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “राष्ट्रिय स्वतन्त्र पार्टीको जितले मात्रै यहाँको वास्तविक परिवर्तन सम्भव छ। आउने दिन हामी सबैका लागि अति लाभदायक साबित हुनेछ।
स्थानीय बासिन्दाहरूले पनि कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा आफ्ना सुझाव तथा अपेक्षा राखेका थिए। रास्वपाको अभियानले स्थानीयस्तरमा उत्साह थपिएको देखिएको छ।









