२०८२ माघ १९ गते सोमबार

नेकपा एमाले पर्सा–२ को अगुवा कार्यकर्ता भेला सम्पन्न, उम्मेदवार यादवद्वारा शिक्षा–स्वास्थ्य र महिला सशक्तिकरणमा जोड

 

नेकपा एमाले पर्सा क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका–२५ श्रीसियामा आज अगुवा कार्यकर्ता भेला भव्य रूपमा सम्पन्न भएको छ। क्षेत्रीय अध्यक्ष मनोज कुशवाहाको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय सदस्य एवं पूर्व मेयर विजय सरावगी, मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, महानगर कार्यवाहक अध्यक्ष लियाकत अली, नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी, खुरम आलम लगायतका नेताहरूले धारणा राखेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले यसअघि निर्वाचित नेताले अपेक्षित काम गर्न नसकेको आरोप लगाउँदै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासका क्षेत्रमा अझै धेरै काम बाँकी रहेको बताइन्। उनले मधेशमा महिलाको अवस्था नाजुक रहेको उल्लेख गर्दै महिला सशक्तिकरण र जीवनस्तर सुधारलाई आफ्नो प्रमुख लक्ष्य बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

आफू युवा भएको कारण युवाले भोगिरहेका समस्या र महिलाले समाजमा भोगिरहेका कठिनाइहरू समाधान गर्न संसदमा सशक्त आवाज उठाउने उनले बताइन्। यादवले आफू पद, पावर वा पैसाका लागि नभई नागरिकको जीवनस्तर सुधार र देशको समग्र विकासका लागि राजनीतिमा होमिएको स्पष्ट पारिन्। कार्यक्रममा उनले मतदातालाई ‘सूर्य’ छापमा मतदान गरी आफूलाई विजयी बनाउन आग्रहसमेत गरे।

प्रतिक्रिया लेख्नुहोस्

अर्थ

Live

Listen Live FM