पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नम्बर–२ ध्यानसिंह पिपरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कानुले चुनावी घरदैलो कार्यक्रम सञ्चालन गर्नुभएको छ। निर्वाचन नजिकिँदै गर्दा कानु स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो एजेन्डा र प्रतिबद्धता प्रस्तुत गर्न सक्रिय देखिनुभएको छ।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीय बासिन्दाको घर–घरमा पुगेर अभिवादन गर्दै उनीहरूको समस्या, आवश्यकता र अपेक्षाबारे प्रत्यक्ष रूपमा जानकारी लिनुभएको थियो। कार्यक्रममा महिला, युवा तथा ज्येष्ठ नागरिकको उल्लेखनीय सहभागिता देखिनुका साथै स्थानीयवासीले आफ्ना दैनिक जीवनसँग जोडिएका समस्या खुलस्त रूपमा राखेका थिए।
स्थानीय मतदाताले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक तथा कृषिसम्बन्धी समस्या प्रमुख रूपमा उठाएका थिए। जवाफमा उम्मेदवार कानुले ती समस्याहरूलाई नीति तथा कार्यक्रममार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै रास्वपाले परम्परागत राजनीतिक शैलीभन्दा फरक, समाधानमुखी र उत्तरदायी राजनीति अघि सारेको बताउनुभयो।
भेटघाटका क्रममा कानुले देश र क्षेत्रको विकासका लागि इमानदार, पारदर्शी र जनउत्तरदायी नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले पर्सा–२ मा सुशासन, समान विकास र युवालाई अवसर दिने नीति प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउँदै जनताको आवाज
संसदसम्म पुर्याउने दाबी गर्नुभयो।
स्थानीयवासीले नयाँ सोच र वैकल्पिक राजनीतिक धार बोकेको उम्मेदवार पाएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका थिए। धेरै मतदाताले यसपटक परिवर्तनको पक्षमा मतदान गर्ने मनस्थितिमा रहेको बताउँदै उम्मेदवार कानुप्रति विश्वास व्यक्त गरेका थिए।
घरदैलो कार्यक्रमको अन्त्यमा उम्मेदवार सुशील कानुले लोकतन्त्रलाई सुदृढ बनाउन र पर्सा–२ मा सकारात्मक परिवर्तन ल्याउन रास्वपाको चुनाव चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन सम्पूर्ण मतदातासँग आग्रह गर्नुभयो।









