पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशोक टेमानीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियानलाई तीव्र बनाएका छन्। बिहीबार वीरगञ्ज महानगरपालिका वडा नं. २६ सुगौलीवीर्तालगायत विभिन्न क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा उनले मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका हुन्।
घरदैलोका क्रममा टेमानीले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक तथा आधारभूत सेवासम्बन्धी स्थानीय समस्या सुन्दै सुझाव संकलन गरे। उनले निर्वाचित भए ती विषयलाई संसदमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाउँदै आफू जनताको सेवक भएर काम गर्ने स्पष्ट धारणा राखे।
स्थानीय मतदातासँगको संवादमा टेमानीले मधेश र पर्साको दीर्घकालीन विकासका लागि योजनाबद्ध पहल आवश्यक रहेको उल्लेख गरे। वीरगञ्जलाई आर्थिक तथा औद्योगिक केन्द्रका रूपमा स्थापित गर्न संघीय तहमा बलियो प्रतिनिधित्व आवश्यक रहेको उनको भनाइ थियो।
घरदैलो अभियानमा सहभागी मतदाताले टेमानीको सरल स्वभाव, सहज पहुँच र सक्रिय नेतृत्वको प्रशंसा गरेका छन्। निरन्तर क्षेत्रमै सक्रिय रहँदै आएका टेमानीले जनविश्वास बढाउँदै गएको स्थानीयको प्रतिक्रिया छ।
मधेश प्रदेशका सफल उद्योगी व्यवसायीका रूपमा परिचित टेमानी विगतदेखि नै सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको नेतृत्व गरिसकेका उनले अनुभव र क्षमताका आधारमा विकास र सेवामुखी राजनीति अघि बढाउने लक्ष्यसहित उम्मेदवारी दिएका हुन्।
घरदैलो, टोलसभा र प्रत्यक्ष संवादमार्फत मतदातासँग जोडिँदै आएका टेमानीको अभियानले पर्सा–२ मा जसपा नेपालको उपस्थितिलाई थप सशक्त बनाएको छ। विकास र सेवामा केन्द्रित उनको अभियानले मतदातामा सकारात्मक आशा र उत्साह बढाएको देखिएको छ।









