वीरगंज: पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर २ का खेखरिया, झिँगण, छतुवन टाँडी तथा कटानी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुको घरदैलो कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।
प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै सञ्चालन गरिएको उक्त घरदैलो कार्यक्रममा बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषक स्थानीयवासीको ठूलो संख्यामा सहभागिता देखिएको थियो।
सहभागीहरूले उम्मेदवार कानुसँग प्रत्यक्ष संवाद गर्दै आफ्नो दैनिक जीवनसँग सम्बन्धित समस्या, अपेक्षा र सुझावहरू राखेका थिए।
कार्यक्रमका क्रममा सुशील कुमार कानुले स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सुधार तथा पूर्वाधारको स्तरोन्नतिलाई प्राथमिकतामा राख्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे। उनले जनताको विश्वास र समर्थन नै आफ्नो मुख्य शक्ति भएको उल्लेख गर्दै, निर्वाचित भएपछि पर्सागढीका बासिन्दाहरूको आवाज संसदसम्म पुर्याउने प्रतिवद्धता व्यक्त गरे।
उक्त अवसरमा उपस्थित स्थानीयवासीहरूले उम्मेदवार कानुको दृष्टिकोण, विकास योजना र स्थानीय तहसँगको समन्वयका लागि जनताको आवाज उठाउने तत्परतालाई सकारात्मक रूपमा लिएका थिए। घरदैलो कार्यक्रममा सहभागीहरूले आगामी निर्वाचनमा सुशील कुमार कानुलाई विजयी बनाउन समर्थनको प्रतिबद्धता दोहोर्याए।स्थानीय नेताहरू र रास्वपा कार्यकर्ताहरूको सक्रिय उपस्थिति तथा उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप ऊर्जा प्रदान गरेको थियो।
पार्टीका नेताहरूले घरदैलो अभियानलाई आगामी दिनहरूमा निरन्तर सञ्चालन गरी जनसमर्थन अझ मजबुत बनाउने योजना बनाएको जानकारी दिएका छन्।यस प्रकारको घरदैलो अभियानले उम्मेदवार र मतदाता बीच प्रत्यक्ष संवादको माध्यमबाट विश्वासको सम्बन्ध सुदृढ गर्ने विश्वास पार्टीले व्यक्त गरेको छ।









