२०८२ फाल्गुन १९ गते मंगलवार

मुनलाइट स्कुल को ४५औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, विद्यार्थीहरूद्वारा प्रमुख अतिथिको सिर्जनात्मक स्वागत

 

वीरगञ्जस्थित मुनलाइट स्कुल द्वारा आयोजित ४५औँ वार्षिकोत्सव कार्यक्रम भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एवं समाजसेवी प्रदीप चौरसियाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवातमा विद्यार्थीहरूले प्रमुख अतिथि चौरसियालाई युनिक तथा सिर्जनात्मक शैलीमा स्वागत गरेका थिए। सांस्कृतिक झाँकी, पुष्पगुच्छा तथा सम्मानपत्रमार्फत गरिएको स्वागतले समारोहलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रम विद्यालयका संस्थापक एवं प्रिन्सिपल श्याम केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। विशिष्ट अतिथिहरूमा प्याब्सन का वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, प्याब्सन पर्सा जिल्ला अध्यक्ष सरोज चौधरी, वडा सदस्य मनोज साह, सन्जु दहाल, जिल्ला सचिव अशोक सङ्रौला, बिरगञ्ज अध्यक्ष राहुल श्रीवास्तव तथा नेपाल ईनोभेटिभ सोसाइटी का अध्यक्ष कमल चौगाई लगायत सञ्चारकर्मी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा स–साना बालबालिकाहरूले विभिन्न सांस्कृतिक नृत्य, नाटक तथा आकर्षक प्रस्तुति दिएका थिए। विद्यार्थीहरूको प्रतिभाले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। साथै विभिन्न खेलकुद तथा शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै पुरस्कार हासिल गरेका विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।

सो अवसरमा प्रमुख अतिथि चौरसियाले विद्यालयले शिक्षा र संस्कारको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो। उहाँले गुणस्तरीय शिक्षामार्फत समाज परिवर्तन सम्भव रहेको धारणा व्यक्त गर्नुभयो।

वीरगञ्जका पुराना तथा प्रतिष्ठित विद्यालयहरूमध्ये एक मानिने मुनलाइट स्कुलले विगत चार दशकभन्दा बढी समयदेखि शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यस वर्षको ४५औँ वार्षिकोत्सव कार्यक्रम विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा सफलतापूर्वक सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM