२०८२ फाल्गुन १९ गते मंगलवार

बगही टोलमा अशोक टेमानीको घरदैलो, शिक्षा–स्वास्थ्य सुधारको प्रतिबद्धता

वीरगंज महानगरपालिका वडा नं. २८ अन्तर्गत बगही टोलमा प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले घरदैलो अभियानलाई सशक्त बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्। जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट पर्सा क्षेत्र नं. २ का उम्मेदवार टेमानी चुनावी प्रचारप्रसार अभियान अन्तर्गत बगही टोल पुगेका हुन्, जहाँ उनले स्थानीय बासिन्दासँग भेटघाट गर्दै उनीहरूका समस्या र अपेक्षाबारे विस्तृत जानकारी लिएका थिए। घरदैलो अभियानका क्रममा टेमानीले मतदाताको घर–घरमा पुगेर दैनिक जीवनसँग जोडिएका विषयमा चासो व्यक्त गरेका थिए। प्रत्यक्ष संवादमा स्थानीयले खानेपानी, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रका समस्यालाई मुख्य चुनौतीका रूपमा उठाएका थिए। अर्ध–ग्रामीण स्वरूपको यस क्षेत्रमा आधारभूत सेवाको पहुँच अझै पर्याप्त नभएको उनीहरूको गुनासो थियो।

स्थानीय बासिन्दाले शुद्ध खानेपानीको समस्या अझै समाधान हुन नसकेको बताएका थिए। कतिपय टोलमा धारा र पाइपलाइनको व्यवस्था कमजोर रहेको तथा गर्मी याममा पानीको अभाव झनै गम्भीर हुने गरेको उनीहरूको भनाइ थियो। दैनिक उपभोगका लागि समेत पानी जुटाउन कठिनाइ हुने अवस्था रहेको स्थानीयले बताएका थिए। शिक्षा क्षेत्रको अवस्थाबारे पनि मतदाताले असन्तुष्टि व्यक्त गरेका थिए। सामुदायिक विद्यालयमा शिक्षक अभाव, कमजोर भौतिक संरचना तथा आवश्यक शैक्षिक सामग्रीको कमीका कारण बालबालिकाको पढाइ प्रभावित भइरहेको उनीहरूको गुनासो थियो। उच्च शिक्षा लिनका लागि विद्यार्थीलाई अन्य क्षेत्रमा जानुपर्ने बाध्यता रहेको पनि उनीहरूले बताएका थिए।

स्वास्थ्य सेवाको अवस्था पनि कमजोर रहेको भन्दै स्थानीयले सामान्य उपचारका लागि समेत टाढाको स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता रहेको बताएका थिए। स्वास्थ्य चौकीमा आवश्यक औषधि, उपकरण र दक्ष स्वास्थ्यकर्मीको अभाव हुँदा बिरामीले समयमै सेवा पाउन नसकेको उनीहरूको भनाइ थियो। आकस्मिक अवस्थामा तत्काल उपचारको व्यवस्था नहुँदा थप समस्या हुने गरेको स्थानीयले बताएका थिए। कृषि क्षेत्रमा पनि समस्या उत्तिकै रहेको किसानहरूले बताएका थिए। समयमा मल र उन्नत बीउ नपाउने, सिँचाइको पर्याप्त व्यवस्था नहुँदा उत्पादन घट्ने तथा उत्पादन भएको बालीले उचित मूल्य नपाउने समस्याले किसान निराश रहेको उनीहरूले बताएका थिए। कृषि मुख्य पेशा भए पनि आवश्यक पूर्वाधार र सहयोगको अभावले जीवनयापन कठिन हुँदै गएको गुनासो उनीहरूको थियो।

स्थानीयको समस्या सुनेपछि उम्मेदवार टेमानीले आफू निर्वाचित भएमा खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले आधारभूत सेवाको सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाउने उल्लेख गर्दै जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता जनाए। घरदैलो कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको थियो। बृद्धदेखि युवासम्मको सक्रिय उपस्थिति रहेको उक्त कार्यक्रममा विकास, रोजगारी र आधारभूत सेवाको सुधारप्रति जनताको अपेक्षा स्पष्ट रूपमा देखिएको छ।

यस कार्यक्रममा प्रमोद यादव, बिरेंद्र यादव, सुरजलाल मण्डल, पनालाल मण्डल, चोकट साहनी, विनोद यादव, शंकर राम, सुभधर राम, बलदेव राम, धनराज यादव, सुरज महतो, पनालाल यादव, सुनिता देवी, मधु महतो, दिपक महतो, लक्ष्मी कुमार, कलावती देवी, दिनेश महतो र रुपेश पटेल लगायत करिब १२५ जनाले पार्टी प्रवेश गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM