पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौ सिवान टोलमा Rastriya Swatantra Party (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानुको घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो भने युवादेखि जेष्ठ नागरिकसम्मको उपस्थितिले चुनावी माहोल थप उत्साहपूर्ण बनेको थियो।घरदैलो कार्यक्रमका क्रममा ८५ वर्षीय जेष्ठ नागरिक जनक साहले उम्मेदवार कानुलाई विजयको आशीर्वाद दिँदै राजनीतिमा नेतृत्व परिवर्तन अपरिहार्य भएको सन्देश व्यक्त गरे। उनले भने,
अबको समय परिवर्तनको हो। जेष्ठ नागरिक भत्ता, वृद्ध भत्ता, एकल महिला भत्ता जस्ता सामाजिक सुरक्षा कार्यक्रम पार्टीले होइन, सरकारले दिन्छ। त्यसैले कुनै पार्टीको झुटो आश्वासनमा नपरी सही मतदान गर्नु आवश्यक छ। सही निर्णय भनेको सन्तानको भविष्य सुरक्षित गर्नु हो।”
जनक साहको स्पष्ट र यथार्थपरक भनाइले कार्यक्रममा सहभागी स्थानीयवासीहरूबीच सकारात्मक सन्देश प्रवाह भएको देखिन्थ्यो। उनले मतदाताहरूलाई भावनामा होइन, तथ्य र कार्यसम्पादनका आधारमा मतदान गर्न आग्रह गरे।
घरदैलोका क्रममा उम्मेदवार कानुले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै रास्वपाको प्राथमिक एजेन्डा सार्वजनिक गरे। उनले दलित समुदाय लक्षित स्वास्थ्य सेवामा सुधार, शिक्षामा समान पहुँच सुनिश्चित गर्ने, युवाहरूका लागि स्थायी रोजगारी सिर्जना गर्ने तथा कृषिमा आधारित स्वरोजगार प्रवर्द्धन गर्ने आफ्नो मुख्य प्रतिबद्धता रहेको बताए।
राजनीति भाषणमा होइन, परिणाममा देखिनुपर्छ। रास्वपा नेतृत्वमा आएपछि जनताको जीवनस्तर सुधार नै हाम्रो पहिलो लक्ष्य हुनेछ,” कानुले प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका क्रममा युवादेखि जेष्ठ नागरिकसम्मले “परिवर्तनका लागि घण्टीमा मत हालौँ” भन्ने नारा लगाउँदै रास्वपाप्रति समर्थन जनाएका थिए। स्थानीयवासीहरूले लामो समयदेखि पुराना राजनीतिक दलबाट अपेक्षित विकास र सुशासन नपाएको गुनासो गर्दै यसपटक नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने धारणा राखेका थिए।
घरदैलो कार्यक्रमले अलौ सिवान टोलमा रास्वपाप्रति बढ्दो आकर्षण र परिवर्तनको चाहना स्पष्ट देखाएको सहभागीहरूको भनाइ छ। निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा–२ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको सन्दर्भमा यस्ता प्रत्यक्ष जनसम्पर्क कार्यक्रमले चुनावी वातावरण थप सशक्त बनाइरहेको देखिन्छ।









